नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले सरकारमा बसेका दलहरुलाई एमसीसीको विपक्षमा मतदान गर्ने नैतिक र संवैधानिक अधिकार नहुने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन)को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बस्नेतले भने, “एमसीसीका बारेमा उठेको बहसलाई सार्वभौम संसद्मा छलफल गर्नै नदिने कम्युनिस्टहरुको षड्यन्त्र असफल भएको छ । ढिलै भए पनि यो संसद्मा टेबुल भएको छ । अब यो संसद्को सम्पत्ति बनेको छ । त्यसबारे जे निष्कर्ष आउँछ, त्यसलाई हामी सबैले मान्नुको विकल्प छैन ।”
कांग्रेस नेता बस्नेतले सत्तामा बसेर प्रचण्ड र माधव नेपालले एमसीसीमा द्वैध नीति लिएको आरोप पनि लगाए । उनले थपे, “संसद्मा प्रचण्ड चुपो लागेर बस्नुहुन्छ, उहाँकी बुहारी विरोध गर्नुहुन्छ । सडकमा रत्यौली गराउनुभएको छ । आफैं पास गर्छु भनेर चिठी लेख्ने अनि आफैं विरोधमा तमासा गर्ने रु उहाँहरुलाई अब एमसीसीको विपक्षमा मतदान गर्ने नैतिक र संवैधानिक अधिकार हुन्न ।”
नेपाली कांग्रेस एमसीसी अनुमोदन गराउनका लागि गठबन्धन तोड्न पनि तयार हुने पनि उनले दाबी गरे । बस्नेतले भने, “सत्ता गठबन्धनमा एकपछि अर्को समस्या थपिएको छ । तर प्रधानमन्त्री एमसीसीका कारण सकेसम्म गठबन्धन टुटाउने पक्षमा हुनुहुन्न ।
साँचो कुरा के हो भने प्रचण्डजीले हामी केपीसँग हात मिलाउन सक्छौ भन्न मिल्छ भने हामीले गर्न एमालेसँग हात मिलाउन नहुने कुरा हुँदैन । कांग्रेस आफूले बोलेको कुरा गर्ने पार्टी हो । यसले ढाँट्दैन, दोहोरो चरित्र देखाउँदैन । त्यसैले हिजो केपी ओली सत्तामा हुँदा पनि सरकारको नेतृत्व गरिदेऊ भन्न आए, आज फेरि एमालेले समर्थन गर्छु भनिरहेको छ ।”
कांग्रेस नेता बस्नेतले एमसीसी टेबुल गर्नुपर्यो भने आत्महत्या गर्छु भन्ने सभामुख अग्निप्रसाद सापकोटाले मत विभाजनमा लान्छु भन्नु रहस्यमय रहेको बताए । उनले कटाक्ष गरे, “हिजोसम्म सभामुखले एमसीसी टेबुल गर्नुपर्यो भने आत्महत्या गर्छु भन्नुभएको हो । अहिले टेबुल गरेकाले सुध्रिनुभयो भन्ने लाग्छ तर मतविभाजनमा लान्छु भन्नु अर्को षड्यन्त्र हो । मैले भन्न खोजेको कुरा हामी नेपालीले राष्ट्रिय स्वार्थमा एकजुट हुनुपर्छ । अरुको देशको स्वार्थमा गलफत्ती गर्नु आवश्यक छैन ।”
चीनसँग जोडिएका नाका खुलाउन आफूले प्रयास गरिरहे पनि सफल हुन नसकेको बस्नेतले बताए । उनले भने, “नाकाको बारेमा म ४० वर्षदेखि बोल्दै आएको छु । २०७२ पछि नाका खुलाउन मैले महामहिम राजदूतसँग पटक पटक कुराकानी गरेको छु । प्रधानमन्त्री, परराष्टमन्त्रीसँग कुरा गरेको छु । बीचमा खुला जस्तो भएको थियो । अहिले फेरि असजिलो भएको छ । मलाई लाग्छ, राजदूतले सहजीकरण गरिदिनु होला ।”