काठमाडौँ- आसन्न स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी नेकपा माओवादी केन्द्रले जनकपुरमा मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्दैछ ।
जनकपुरस्थित तिरहुतियामा आयोजना हुने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्षका पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज जनकपुर जाँदैछन् ।
जनकपुरधाममा पहिलो पटक हुन लागेको प्रशिक्षण कार्यक्रममा करिब २ हजार ५ सय नेता तथा कार्यकर्ताको सहभागिता रहने माओवादी केन्द्र मधेस प्रदेशका अध्यक्ष प्रह्लाद बुढाथोकीले जानकारी दिए ।
सो प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रको मधेस प्रदेशमा रहेका केन्द्रीय सदस्यहरू, प्रदेश समितिका प्रतिनिधि, जिल्ला समितिका प्रतिनिधि, जनवर्गीय सङ्गठनका प्रतिनिधिलगायतको सहभागिता रहने जनाइएको छ ।