काठमाडौं - कतारमा जारी फिफा विश्वकप फुटबलमा साविक विजेता फ्रान्स क्वाटरफाइनलमा प्रवेश गरेको छ । राउन्ड अफ १६ अन्तर्गत आइतबार राति भएको खेलमा पोल्यान्डलाई ३–१ गोल अन्तरले हराउँदै फ्रान्सले अन्तिम आठमा स्थान पक्का गरेको हो । अल थुमामा स्टेडियममा फ्रान्सलाई जित दिलाउन केलियन एमबाप्पेले दुई गोल गर्दा ओलिभर जेरुडले एक गोल गरे । पोल्यान्डका रोबर्ट लेवान्डोस्कीले एक गोल फर्काए ।
यस्तै, अल बयात स्टेडियममा आइतबार राति भएको खेलमा सेनेगललाई ३–० गोल अन्तरले हराउँदै इंङ्ल्यान्ड अन्तिम आठमा पुगेको हो । इंग्ल्यान्डलाई जित दिलाउन जोर्डन हेन्डरसन, ह्यारी केन र बुकायो साकाले एक एक गोल गरे ।