×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अवैध संरचना भत्काउने काम कसैले रोक्न सक्दैन : काठमाडौं महानगरपालिका

अवैध संरचना भत्काउने काम कसैले रोक्न सक्दैन : काठमाडौं महानगरपालिका

काठमाडौं- काठमाडौं महानगरपालिकाले अवैधरूपमा र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका सम्पूर्ण संरचना भत्काउने काम कसैले रोक्न नसक्ने भन्दै यसलाई निरन्तर अघि बढाउने प्रस्ट पारेको छ ।

अहिले कामपाले कानूनविपरीत निर्माण भएको सम्पूर्ण संरचना अवैध रहेकाले नक्सा पास नगरी निर्माण भएका र नक्सा पासअनुरूप निर्माण नगरिएका दुवै संरचना भत्काउने काम निरन्तर गर्ने बताएको हो ।

‘कानूनी रूपमा अवैध ठहर भएका सबै संरचना भत्काउने काम निरन्तर गरिनेछ । त्यसका लागि कामपाले नक्साअनुरूप वैध, अवैध यकीन गरिरहेको छ,’ कामपाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले भने । नक्सा विपरीतका संरचना, नक्सा पास नगरी निर्माण भएका संरचना र सार्वजनिक जग्गा मिचेर बनाएका सबै संरचना भत्काउने काम कामपाको कर्तव्यभित्र पर्ने उनले बताए ।

यो कामलाई अभियानका रूपमा सञ्चालन गरिने र महानगरको ३२ ओटै वडामा निर्माण भएका यस्ता कुनै पनि संरचना बाँकी नराखिने महानगर प्रमुख बालेन्द्र साहको सचिवालय सदस्य सुनिल लम्सालले बताए ।

संरचना निर्माणका सम्बन्धमा पहिला कागजपत्र देखाउन सम्बन्धित व्यक्तिलाई आग्रह गरेर गलत प्रमाणित भए थप कानूनी प्रक्रिया अघि बढाउन कामपाले ३५ दिने सार्वजनिक सूचना जारी गरेको र उक्त सूचनाको बेवास्ता गरिएपछि यही भदौ ६ गतेदेखि अवैध संरचना भत्काउने काम शुरू गरिएको हो ।

कहाँकहाँ भत्काइए अवैध संरचना ?

अभियानअन्तर्गत हालसम्म बानेश्वर कम्प्लेक्स तथा काठमाडौं मलका अवैध संरचना, आरबी कम्प्लेक्सका दर्जनभन्दा बढी साना पसल र बानेश्वरमा रहेको अल्फाबिटामा पनि निर्माणविपरीत प्रयोग भएका संरचना भत्काइएका छन् ।

त्यस्तै त्रिपुरेश्वरको युनाइटेड वर्ल्ड ट्रेड सेन्टरमा राखिएको विद्युतीय विज्ञापन बोर्ड पनि बन्द गराइएको महानगरको भनाइ छ । तर, उक्त विज्ञापन बोर्डमा मंगलवार पनि विज्ञापन प्रसारण भइरहेको प्रत्यक्षदर्शी बताउँछन् । वनस्थली चोकबाट ढुंगेधारा जाने बाटोमा रहेको सात टहरा र तीन भर्‍याङ पनि कामपाले डोजर लगाएर भत्काइसकेको छ ।

आइतवार र सोमवार बालाजुस्थित नयाँ बसपार्क आसपास र कोटेश्वरमा गरी सयभन्दा बढी कानूनविपरीत निर्माण भएका संरचना भत्काएको छ । आइतबार कोटेश्वर प्रहरी चौकीनजिकैका ५० भन्दा बढी र सोमवार नयाँ बसपार्कनजिकै मित्रनगरमा ५० भन्दा बढी अवैध संरचना भत्काइएको कामपाले जनाएको छ । यसरी भत्काइएका संरचनामा सडक पेटी मिचेर बनाइएका सटर, टहरा, सटरअगाडिका छत र सडक मिचेर बनाइएका भर्‍याङ छन् ।

अवैधरूपले बनाइएका संरचना घरधनीलाई नै भत्काउन वा निर्माण गरिएअनुसार प्रयोग गर्न ३५ दिने सूचना जारी गरिएको थियो । सार्वजनिक सूचनाको बेवास्ता गरेपछि ती संरचनामा डोजर चलाउन कामपा बाध्य भएको नगर प्रहरी पाण्डेको भनाइ छ । अवैध संरचना हटाएसँगै हाल उपत्यकामा भइरहेको पार्किङको समस्या २५ प्रतिशतले समाधान हुनाका साथै ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने कामपाको दाबी छ । हाल बेसमेन्ट र अन्डरग्राउन्ड पार्किङ राख्ने शर्तमा कर छूट लिइरहेका ३५ ओटा भवन रहेको कामपाको भनाइ छ । ती सबैलाई कानूनी दायरामा ल्याउने तयारी छ ।

अबको ध्यान असनका फुटपाथमा

अवैध संरचना हटाउन निरन्तर लागिरहेको कामपाको ध्यान असन र इन्द्रचोकमा अस्तव्यस्तरूपमा सञ्चालन भइरहेका पसलतर्फ गएको छ । अहिले यस क्षेत्रका फुटपाथको व्यापार हटाउने कामसँगै अव्यवस्थित हुने गरेको पार्किङ पनि व्यवस्थापन गर्ने काम भइरहेको नगर प्रहरी प्रमुख पाण्डेले जानकारी दिए ।

सडकपेटीसम्म राखिएको केही सामग्री मंगलवार हटाए पनि फुटपाथमा राखेका भाँडाकुँडा, खेलौना पसल, फेन्सीका सामान, माटाका सामग्री बुधवार बिहानसम्म हटाउन निर्देशन दिइएको पाण्डेले बताए ।

प्रतिकृया दिनुहोस्