काठमाडौँ- सन् २०१६ देखि नै भारतीय टीम बाहिर रहेका दिग्गज अफ स्पिनर हरभजन सिंहले खेल जीवनबाट सन्न्यास लिने घोषणा गरेका छन् । सिंहले क्रिकेटको सबै खाले फर्म्याटबाट सन्न्यास लिएका हुन् । समाचारअनुसार उनी अब आईपीएलको कुनै एक टीममा सपोर्ट स्टाफका रुपमा रहने सक्नेछन् ।
पञ्जावका सिंहले आफ्नो पहिलो टेस्ट १९९८ मा अस्ट्रेलियाविरुद्ध खेलेका थिए । उनले आफ्नो अन्तिम टेस्ट २०१५ मा श्रीलंकाविरुद्ध खेले । भज्जीका नामबाट परिचित सिंहले आफ्नो पहिलो एकदिवसीय भने न्युजिल्यान्डविरुद्ध १९९८ मा खेलेका थिए । उनले आफ्नो अन्तिम एकदिवसीय खेल २०१५ मा दक्षिण अफ्रिकाविरुद्ध खेलेका थिए ।
भारतका लागि भज्जीले १०३ टेस्ट खेले‚ जहाँ उनले ४१७ विकेट हात पारे । त्यस्तै २३६ एकदिवसीय खेलमा २६९ विकेट हात पारेका थिए । उनले टी-२० मा पनि भारतको प्रतिनिधित्व गरे । उनले २८ खेलमा २५ विकेट लिए ।
हरभजनले २०१६ को एसिया कपमा यूएईविरुद्ध टी-२० अन्तरराष्ट्रियमा आफ्नो अन्तिम खेल खेलेका थिए । यूएईविरुद्धको खेल नै उनको अन्तरराष्ट्रिय करिअरको अन्तिम खेल बन्न पुग्यो ।
यद्यपि आईपीएलमा सक्रिय रहँदै आएका थिए । आईपीएलमा हरभजनको नाममा १६३ खेलमा १५० विकेट रहेको छ । उनले आईपीएलमा मुम्बई इन्डियन्स, चेन्नइ सुपर किंग्स तथा कोलकाता नाइटराइडर्सबाट प्रतिस्पर्धा गरे । ४१ वर्षीय भज्जी आईपीएलको गतसिजनमा कोलकाता नाइट राइडर्सको हिस्सा रहेका थिए । यद्यपि उनले २०२१ को आईपीएलको दोस्रो फेजमा भने एउटा पनि खेलमा अवसर पाएनन् ।