काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनलाई बोलाएर काठमाडौंको फोहोर व्यवस्थापनका विषयमा जानकारी लिएका छन् ।
प्रधानमन्त्री देउवाले आज प्रमुख शाहलाई आफ्नो सरकारी निवास बालुवाटारमा बोलाएर फोहोर व्यवस्थापनमा देखिएको समस्या समाधान गर्न नेपाल सरकारको साथ रहने बताएको उनको सचिवालयले जनाएको छ ।
सो अवसरमा प्रधानमन्त्री देउवाले फोहोर व्यवस्थापन हुने स्थल बञ्चरेडाँडाका स्थानीय बासिन्दा र जनप्रतिनिधिसँग पनि छलफल गरेर दीर्घकालीन समाधान खोज्न आग्रह गरेका थिए । काठमाडौंको फोहोर व्यवस्थापन हुन नसकेर संकट गहिरिँदै गएका बेला प्रधानमन्त्री देउवा र मेयर बालेनबीच दोस्रोपटक भेटवार्ता भएको छ ।
बालेनले फोहोरको समस्या समाधान गरेर मात्रै मेयरमा जितेको खुसी मनाउने बताउँदै आएका छन् । तर उनी मेयर भएदेखि फोहोरको समस्या विकराल बनेको छ । भोलि प्रभावित क्षेत्रका बासिन्दासँग सरकारको वार्ता हुन लागेका बेला प्रधानमन्त्रीसँग बालेनले सहयोग मागेका हुन् ।
फोहोरको समस्या समाधान गर्न नेकपा एमालेले संसदमा चर्को आवाज उठाइरहेको छ । कांग्रेस सांसद गगन थापाले भने प्रधानमन्त्रीकै तहबाट फोहोर व्यवस्थापनको पहल हुनुपर्ने बताएका थिए । कांग्रेस महामन्त्री समेत रहेका गगनको सुझावपछि प्रधानमन्त्रीले बालेनलाई बोलाएका हुन् ।