×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

रुस–युक्रेनबीचको युद्ध अन्त्यका लागि वार्ताको सङ्केत

रुस–युक्रेनबीचको युद्ध अन्त्यका लागि वार्ताको सङ्केत

एजेन्सी-  रुस-युक्रेनबीचको युद्ध अन्त्यका लागि वार्ताको सङ्केत देखिएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशवासीलाई सम्बोधन गरी आफूले रुसलाई युद्धविरामका लागि अपिल गरिरहेको बताउनुभएको छ ।

रुसले आक्रमण गरेको र यसको अन्त्यका लागि ढिलो–चाँडो रुसले युक्रेनसँग कुरा गर्नुपर्नेमा उहाँको जोड छ । युक्रेनका राष्ट्रपति जेलेन्स्कीले जति छिटो संवाद सुरू हुन्छ रुसलाई त्यति कम क्षति हुने प्रतिक्रिया दिनुभएको छ ।

रुसले अस्ति बुधवार आक्रमण सुरु गरेपछि युक्रेनका विभिन्न ठाउँमा घटना भइरहेका छन् । रुसी सैनिक युक्रेनको राजधानी किएभ पुगेका छन् । किएभभरि खतरा जनाउने साइरन बजेको सुनिएको बीबीसीले जनाएको छ ।

आक्रमणपछि ज्यान गुमाउने सैनिक र गैरनागरिकको फरक फरक विवरण सार्वजनिक भएका छन् । युक्रेनी रक्षा मन्त्रालयले अहिलेसम्म एक हजार जनाभन्दा धेरै रुसी सैनिक मारिएको समेत दाबी गरेको छ ।

रुसले किएभनजिक मात्रै दुई सय युक्रेनी सैनिक मारिएका जनाएको छ । बेलायतको रक्षा मन्त्रालयले अहिलेसम्म साढे चार सय रुसी सैनिक मानिएको विवरण सार्वजनिक गरेको छ ।

संयुक्त राष्ट्रसङ्घले अहिलेसम्म २५ जना गैर नागरिक मारिएको जनाएको छ । केही घाइते भएका छन् । दुवैतर्फ ज्यान गुमाउनेको पूर्ण विवरण आउन सकेको छैन । आक्रमण नरोकिएसम्म आफूहरूले देशको रक्षा गरिरहने पनि युक्रेनी राष्ट्रपतिको भनाइ छ ।

युक्रेनले बेलायत तथा अन्य मित्रदेशलाई रुसी आक्रमण रोक्न सहयोग गर्न आग्रह पनि गरेको छ । तर रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले युक्रेनी सेनाले आत्मसमर्पण गरेमा वार्ता गर्न मस्को तयार रहेको जवाफ दिनुभएको छ । युक्रेनको राजधानी किएभमा रुसी आक्रमणकारी सेनाहरू अघि बढ्दै गर्दा उहाँको याे टिप्पणी आएको हो ।

युक्रेनमा रुसले आक्रमण सुरु गरेपछि विश्वभर त्यसको विरोधमा प्रदर्शन भइरहेको छ ।युद्ध रोक्न अपिल गर्दै प्रदर्शन भइरहेको हो । राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध रुसकै नागरिकले पनि प्रदर्शन गर्दै आएका छन् ।

हजारौँ नागरिक सडकमा ओर्लिएका त्यहाँको एउटा स्वतन्त्र मानव अधिकार समूहले जनाएको छ । अमेरिकाले रुसी आक्रमणका कारण ५० लाख मानिस विस्थापित हुने र त्यसले विश्वका ठूलामध्येको एउटा शरणार्थी सङ्कट सिर्जना गर्ने चेतावनी दिएको छ ।

प्रतिकृया दिनुहोस्