काठमाडौँ- मंगलबार मध्यरातमा अमेरिकी सेनाको अन्तिम समूह अफगानिस्तानको काबुलबाट स्वदेश फर्किएको छ । सि १७ नामक विमानबाट अफगानिस्तानका लागि अमेरिकी राजदूतसँगै सैनिकहरू फर्किएका हुन् ।
अमेरिकी सैनिक र कूटनीतिज्ञ बोकेको हवाइजहाज बिदा हुँदा तलिबानले हवाइफायर गरेर उत्सव मनाएको बीबीसीले उल्लेख गरेको छ ।
सन् २००१ मा अफगानिस्तान ओर्लिएको अमेरिकी सेना दुई दशकपछि घर फर्किएको हो । अमेरिकाको अफगानिस्तान युद्ध उसको इतिहासकै सबैभन्दा लामो समयसम्म भएको युद्ध हो ।
तालिबानले काबुल कब्जा गरेपछि अमेरिकाले १ लाख २३ हजार नागरिकलाई हवाइ उद्धार गरेको बीबीसीले लेखेको छ । दैनिक साढे सात हजारका दरले उद्धार गरिएको बीबीसीले उल्लेख गरेको छ । उद्धार १७ दिन चलेको थियो ।
सन् २०२० को फेब्रुअरी २९ मा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको पालामा अमेरिका र तालिबानबीच शान्तिसम्झौता भएको ठिक १४ महिनापछि अमेरिकी सेनाले अफगानिस्तान छाडेको हो । अफगानिस्तानको काबुल विमानस्थल र अमेरिकी दूतावास परिसरमा भएका अमेरिकी सेना बाहेक सबै यसअघि नै फर्किसकेका छन् । अमेरिकी सेना फर्किएपछि नै तालिबानले शक्तिशाली हमलाबिना नै अगस्ट १५ मा काबुल कब्जा गरेका थिए ।