रोल्पा - रोल्पाको विकट थबाङ गाउँपालिकामा आर्थिक वर्षको अन्तिममा ठूलो समस्या आइपरेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कविहीन भएका छन्।
नेपाल टेलिकमको नेटवर्कले काम नगरेपछि भुक्तानीका लागि आवश्यक 'ओटीपी कोड' लिन रुकुम पूर्व जान्छौं भनी हिँडेको टोली २४ घण्टाभन्दा बढी समयदेखि सम्पर्कमा नआएको हो। असार मसान्तको भुक्तानी रोकिएपछि गाउँपालिकाले उनीहरुको खोजीका लागि सार्वजनिक सूचना नै जारी गरेको छ।
गाउँपालिकाका सूचना अधिकारी भिमसेन बुढा मगरका अनुसार, उक्त टोली सोमबार (असार २४ गते) बिहानै थबाङबाट निस्किएको थियो। "उहाँहरू हिजो बिहान ७ बजेतिर निस्कनुभएको हो, तर अहिलेसम्म सम्पर्कमा आउनुभएको छैन," बुढामगरले भने, "आज रातिसम्म मात्रै भुक्तानीको समय छ। पालिकालाई ठूलो समस्या परेको छ।"
साँझ र रातको समयमा नेटवर्कले काम नगर्ने भएपछि टोली ओटीपी कोडकै लागि नेटवर्क भएको ठाउँमा जान बाध्य भएको थियो।
गाउँपालिकाले जारी गरेको सूचनामा जनाइएअनुसार, उनीहरुको खोजी गर्दा रुकुम पूर्वमा पनि भेटिएका छैनन् र टोलीका सबै सदस्यको मोबाइल 'स्विच अफ' रहेको छ। कार्यालयले पटक-पटक सम्पर्कको प्रयास गरे पनि सफल हुन सकेको छैन।
गाउँपालिकाले सूचनामार्फत उनीहरुलाई यथाशीघ्र सम्पर्कमा आउन अनुरोध गरेको छ।
सम्पर्कविहीन भएका कर्मचारीहरू:
१. हेमराज घर्तीमगर - प्रमुख प्रशासकीय अधिकृत
२. हरिश माझी - सहायक प्रशासन पाँचौ
३. यज्ञ प्रसाद कडेल - सह–लेखापाल
४. चन्द्र प्रकाश ओली - सव–इन्जिनियर
५. निशा आचार्य - सव–इन्जिनियर
६. शिव कुमार वली - खा.पा.स.टे
७. प्रदिप के.सी. - सवारी चालक