काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं नगर प्रहरीमाथि सांघातिक आक्रमण गर्नेहरुलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ ।
सोमबार थापाथलीस्थित सुकुम्बासी बस्ती खाली गराउन भन्दै गएको महानगरको टोलीमाथि सांघातिक आक्रमण भएको थियो । आक्रमणकारीहरुविरुद्ध काठमाडौं महानगरपालिकाले काठमाडौं प्रहरी परिसर टेकुमा उजुरी गर्नुका साथै जिल्ला प्रशासन कार्यालयलाई समेत जानकारी गराएको थियो ।
बुधबार जिल्ला प्रशासन कार्यालयले नगर प्रहरीमाथि आक्रमण गरेको आरोपमा नारायण परिश्रमी, हुकुमबहादुर लामा, दीपकजंग कुँवर र राजु तामाङलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन प्रहरीलाई निर्देशन दिएको हो ।
उनीहरूमाथि आपराधिक बल तथा हातहतियार प्रयोग गरी बन्धक बनाई सांघातिक आक्रमण गरी घाइते बनाएको आरोपमा अनुसन्धान अघि बढाइने प्रहरी परिसरले जनाएको छ ।