काठमाडौं - विश्वकै सर्वाधिक धनराशीको क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल) को १४ औँ संस्करण आजदेखि शुरु हुँदैछ । पहिलो खेल साविक विजेता टोली मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच हुनेछ । नेपाली समयअनुसार साँझ ७ः४५ बजे चेन्नईमा खेलिनेछ ।
दुई टोली सिजनको पहिलो खेलमा दुई टोली भिडेको यो पहिलो अवसर हो । मुम्बईको कप्तानी रोहित शर्माले गर्ने छन् भने बैंगलोरको विराट कोहलीले गर्ने छन् ।
बैंगलोरले अहिलेसम्म ३ पटक सिजनको पहिलो खेल खेलेको छ । तर, तीनै पटक उसले हार ब्यहोरेको छ । बैंगलोर सन् २००९, २०११ र २०१६ मा गरी तीनपटक प्रतियोगिताको फाइनलमा पुगेपनि हालसम्म उपाधिविहीन रहेको छ । गत सिजन टोली एलिमिनेटरमा पराजित भएको थियो । यो सिजन टोलीसँग पहिलोपटक उपाधि जित्ने अवसर छ ।
गत सजन कोहलीले १५ खेलमा ४६६ रन बनाएका थिए भने युवा खेलाडी देवदत्त पडिक्कलले सर्वाधिक ४७३ रन बनाएका थिए ।
उता, मुम्बईले आफ्ना सुरुवाती १३ मध्ये ४ खेलमात्र जितेको छ । सन् २०१३ पछि टोलीले आफ्नो पहिलो खेल जित्न सकेको छैन । यद्यपि, पहिलो खेल हारेपछि टोलीले उपाधि भने जित्न थालेको छ । सन् २०१३ मा टोलीले पहिलो उपाधि जितेको छ । त्यसपछि रोहितको कप्तानीमा मुम्बईले सबैभन्दा बढी ५ पटक उपाधि जितेको छ ।
मुम्बईले पछिल्ला दुई सिजन लगातार उपाधि जितेको छ । गत सिजन मुम्बईले दिल्ली क्यापिटल्सलाई हराएको थियो । यो सिजन मुम्बई उपाधिको ह्याट्रिक गर्ने सोचमा हुनेछ ।
प्रतियोगिताको फाइनल अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय मैदानमा हुने छ। भारतमा बढ्दै गएको कोरोना महामारीका कारण रंगशालामा दर्शकलाई प्रवेश निषेध गरिएको छ।