काठमाडाैँ- प्रधानमन्त्री शेरबहादुर देउवाले विभेदरहित समाज निर्माणमा सबैले भूमिका खेल्नुपर्ने बताएका छन् । २२औं कमैया मुक्ति दिवसकाे अवसरमा सङ्घीय राजधानी काठमाडाैँमा आयाेजित कार्यक्रमलाई सम्बाेधन गर्दै प्रधानमन्त्री देउवाले यस्ताे बताएका हुन् । ‘शाेसन, विभेद र अन्यायमुक्त समाज निर्माणका लागि सबैले भूमिका खेल्नुपर्छ,’ उनले भनेका छन्, ‘यसकाे पहल एक/दुई व्यक्तिले गरेर हुने कुरा हाेइन ।’
उनले कमैया तथा कम्लरीहरूलाई विशेष सम्बाेधन गर्दै उनीहरूकाे पुन:स्थापनाका लागि सरकार सधैँ प्रतिबद्ध रहेकाे बताए । ‘साथै घर निर्माणका लागि जग्गा उपलब्ध गराउनेबारेमा पनि सरकारले साेचिरहेकाे छ, काम गरिरहेकाे छ,’ उनले भनेका छन्, ‘स्थानीय सरकार र जनप्रधिनिधिहरूलाई पनि यसका निम्ति जुट्न निर्देशन दिन्छु ।’
प्रधानमन्त्री देउवाले कमैया तथा कम्लरीहरूकाे स्वाभिमान र स्वतन्त्रताकाे पक्षमा सरकार सधैँ सजग रहेकाे बताए । ‘उनीहरूलाई आत्मनिर्भर बनाउँदै उनीहरूकाे स्वतन्त्रता स्वाभिमान र आत्मसम्मान बढाउनक लागि तीन तहकाे सरकार र सराेकारवालहरू सबै र सधैँ प्रतिबद्ध हुन आवश्यक छ,’ उनले भनेका छन् ।