काठमाडौं - गत चैत १५ गते तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा दुर्गा प्रसाईँको गाडीभित्रै बसेर भिडियो खिच्ने 'नेपाल पुकार' युट्युब च्यानलका सञ्चालक प्रकाशचन्द्र दाहाललाई काठमाडौं जिल्ला अदालतले ५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
आन्दोलनका मुख्य नाइके प्रसाईँसहित ६१ जनाविरुद्ध दायर गरिएको मुद्दामा दाहाल पनि प्रतिवादी थिए। उनीमाथि राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, ज्यान मार्ने उद्योग र संगठित अपराधजस्ता गम्भीर अभियोग लगाइएको थियो। घटनापछि फरार रहेका दाहाल हालै बयानका लागि अदालतमा उपस्थित भएका थिए।
उक्त दिन दाहालले प्रसाईँले आफ्नो गाडीबाट प्रदर्शनकारीलाई 'आओ आओ' भन्दै उक्साइरहेको दृश्यको 'एक्सक्लुसिभ' भिडियो खिचिरहेका थिए। प्रसाईँको गाडीले प्रहरीलाई नै किचेर अघि बढ्न खोजेपछि स्थिति तनावपूर्ण बनेको थियो।
यता, दाहालले भने आफूले एक पत्रकारको रूपमा आफ्नो कर्तव्य पूरा गरेको र अन्य कुनै भूमिका नरहेको दाबी गर्दै आएका छन्। प्रहरीले आफ्नो कमजोरी लुकाउन आफूलाई फसाएको उनको गुनासो छ।