काठमाडाैँ । रुसले युक्रेनमा गरिरहेको आक्रमणमा हालसम्म १ हजारभन्दा बढी युक्रेनी मारिएका छन् । संयुक्त राष्ट्रसंघका अनुसार १ सय ३५ बालबालिकासहित १ हजार ८१ सर्वसाधारण मारिएका हुन् ।
१ हजार ७ सय ७ जना घाइते भएका संयुक्त राष्ट्रसंघले जनाएको छ । युक्रेनले नाटोको सदस्यता लिन लागेको भन्दै रुसले गत फेब्रुअरी २४ बाट युक्रेनमाथि ‘सैन्य कारबाही’ थालेको थियो । यसअघि रुसले सैन्य कारबाही युक्रेनी सर्वसाधरणलक्षित नरहेको दाबी गरे पनि ठूलो संख्यामा सर्वसाधारण मारिएका र अंगभंग भएका छन् । हजारौं भौतिक संरचना ध्वस्त बनेका छन् ।
संयुक्त राष्ट्रसंघका अनुसार रुसी सेनातर्फ हालसम्म १ हजार ३ सय ५१ सुरक्षाकर्मीको मृत्यु भएको छ । आक्रमण थालेयता दोस्रो पटक क्षतिको विवरण सार्वजनिक गर्दै रुसी सेनाले आफ्ना ३ हजार ८ सय २५ सैनिक घाइते भएको रुसी समाचार एजेन्सी रिया नोभोस्तीले लेखेको छ । यसअघि युक्रेनी सेनाले भने १५ हजार रुसी सैनिक मारिएका दाबी गरेको थियो । -एजेन्सी