×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

हेटौंडा सिमेन्ट उद्योगमा भ्रष्टाचार गर्नेमाथि छानबिन होस् : कांग्रेस सांसद केसी

हेटौंडा सिमेन्ट उद्योगमा भ्रष्टाचार गर्नेमाथि छानबिन होस् : कांग्रेस सांसद केसी

काठमाडौं -  सत्तारुढ दल नेपाली कांग्रेसका सांसद राजेन्द्र केसीले हेटौंडा सिमेन्ट उद्योग घाटामा गएको विषयमा छानबिन गर्न सरकारसँग माग गरेका छन् । निजी सिमेन्ट उद्योग नाफा गइरहेको अवस्थामा सरकारी सिमेन्ट उद्योग कसरी करोडौं घाटामा गयो भन्ने विषयमा छानबिन हुनुपर्ने उनको माग थियो । 

प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद केसीले नेपालमा नै पर्याप्त कच्चा पदार्थ पाइने सिमेन्ट उद्योग घाटा गएको भन्ने खबर दुःखलाग्दो भएको बताए । 'कान्तिपुरमा हेटौंडा सिमेन्ट उद्योग ८० करोड घाटा भनेर पढेर दुःख लाग्यो । लाइभस्टोन, रातोमाटो, चुनढुंगाबाट ९५ प्रतिशतभन्दा बढी कच्चा पदार्थ उपलब्ध हुने उद्योगमा कसरी घाटा हुन्छ ? एकातिर निजी सिमेन्ट उद्योग मालिकले अर्बौं रुपैयाँ कमाएर विदेश लगिरहेका छन् भने, 
आज स्वदेशी कच्चा पदार्थका उद्योग ८० करोड घाटा भयो भनेर सरकारले व्यापार गर्ने होइन भन्ने सन्देश दिन खोजेको हो ?,' उनले भने ।
हेटौंडा सिमेन्ट उद्योग घाटामा जानुमा को दोषी छ भन्ने कुरा सार्वजनिक गर्नुपर्ने सांसद केसीको माग थियो । उनले भ्रष्टाचार गर्ने अधिकारी को हो भन्नेबारे छानबिन हुनुपर्ने बताए ।

'अधिकांश कच्चा पदार्थ नेपालमा पाइन्छ । नेपालमा नै कच्चा पदार्थ भएको उद्योग घाटामा जान हुँदैन; हेटौंडा सिमेन्ट उद्योगमा के भएको हो ? कसले भ्रष्टाचार गरेको हो ? छानबिन हुनुपर्छ,' उनले भने । सरकारी उद्योग धराशायी बनाउन नहुने सांसद केसीको भनाइ थियो ।

प्रतिकृया दिनुहोस्