काठमाडौं- नेपाली कांग्रेसले आज (शुक्रवार) काठमाडौंमा चुनावी सभा गर्दैछ । कांग्रेसले चुनावी सभा शुरू गरेको तेस्रो दिन आज काठमाडौंमा सभा गर्न लागेको हो ।
सभालाई प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल लगायतले सम्बोधन गर्ने कार्यक्रम छ । यसअघि कांग्रेसले विराटनगर र भरतपुरमा चुनावी सभा गरिसकेको छ । विराटनगरमा बुधवार र भरतपुरमा बिहीवार चुनावी सभा गरेको कांग्रेसले शुक्रवार काठमाडौंमा सभा गर्न लागेको हो ।
पार्टीको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णयअनुसार कार्यक्रम तय भएको कांग्रेसले जनाएको छ । काठमाडौं महानगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंह मेयर पदका उम्मेदवार छिन् । आजको सभाले सिंहलाई विजयी गराउन भोट अपिल गर्नेछ ।