काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ३८.५ प्रतिशत लाभांश प्रस्ताव गरेको नेशनल माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का गरी स्पष्टीकरण सोधेको छ । सोमबार बिहान बसेको लघुवित्त सञ्चालक समितिको बैठकले आर्थिक वर्ष (आव) २०७८–७९ को मुनाफाबाट सेयर धनीलाई ३८.५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो ।
धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) मा भएको व्यवस्था बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि त्यस्तो सूचना, जानकारी तथा निर्णय सम्बन्धित सूचीकृत सङ्गठित संस्थाले नेप्सेमा पेस गर्नुपर्ने व्यवस्था छ ।
तर, नेशनल माइक्रो फाइनान्स लघुवित्तले उक्त विनियममा भएको व्यवस्था पालना नगरेकोले उक्त विनियमावलीको विनियम १६ (१) (ख) मा भएको व्यवस्था अनुरूप कम्पनीको धितोपत्रको कारोबार स्थगन गरिएको साथै पत्र प्राप्त भएको मितिले ३ (तीन) कार्यदिन भित्र के कति कारणबाट समयमा नै जानकारी दिन नसकेको ? सो सम्बन्धमा स्पष्टीकरण पेस नेप्सेले निर्देशन दिएको छ ।
सोमबार बिहान ९ बजे सञ्चालक समितिको बैठक बसेको र सेयर कारोबार सुरु भएपछि ११ बजेर ४ मिनेटमा मात्रै नेप्सेमा सूचना प्राप्त भएको नेप्सेले जनाएको छ । लघुवित्तले ३८.५ प्रतिशत बोनस सेयर प्रस्ताव गर्दै ३० असार २०७८ मा महिला सहयात्रा लघुवित्तसँग गर्जा गरी एकीकृत कारोबार सुरु गरेकोले त्यसभन्दा अगाडि कायम सेयर धनीले लाभांशमा लाग्ने कर छुट हुने हुँदा कर प्रयोजनका लागि नगद लाभांश भने प्रस्ताव नगरेको जनाएको छ ।
कम्पनीको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्कको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयर धनीमा वितरण हुनेछ ।