×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेपाललाई ‘प्ले ग्राउण्ड’ बनाउनेतिर विश्व शक्ति लागे : जिदेन्द्र नारायण देव

नेपाललाई ‘प्ले ग्राउण्ड’ बनाउनेतिर विश्व शक्ति लागे : जिदेन्द्र नारायण देव

काठमाडौं - राष्ट्रिय सभाका सांसद जितेन्द्र नारायण देवले नेपाललाई ‘प्ले ग्राउण्ड’ बनाउने तिर संसारका शक्ति राष्ट्रहरु लागेको आरोप लगाएका छन् । राष्ट्रिय सभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । 

‘नेपाललाई प्ले ग्राउण्ड बनाउने तिर संसारका शक्ति राष्ट्रहरु लागेका छन् । नेपाल प्ले ग्राउण्ड नबनोस्,’ सांसद देवले भने, ‘नेपालको कुनै पनि विषयमा निर्णय लिने सार्वभौम अधिकार नेपाल र नेपाली जनताको हो, तिमीहरु बोल्न पाउँदैनौं भन्न सक्नुपर्छ सरकारले ।’ 

नेपालको कूटनीतिमा केही चुनौत र केही खतराहरु देखिरहेको उनले बताए । नेपालको आन्तरिक विषयलाई लिएर दुई ठूला शक्ति राष्ट्र अमेरिका र चीनले वाकयुद्ध गरिरहेकोमा उनले आपत्ति समेत जनाए । 

‘हिजो एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) पास हुँदाखेरी चीन एमसीसी पास हुनुहुँदैन भनेर खुलेर आयो । अमेरिका पास हुनुपर्छ भनेर आयो । एसपीपी (स्टेट पार्टनरसीप प्रोग्राम) पास पास होस् भन्ने अमेरिका चाहन्थ्यो । एसपीपीमा नजाने नेपालको निर्णयको चीनले खुलेर स्वागत गर्यो,’ उनले भने । 

नेपालमा कुन विषयमा कसरी जाने भन्ने निर्णय लिने अधिकार सार्वभौम नेपाली जनता र सरकारको अधिकार भएको उनले बताए । उनले चीन र अमेरिकालाई सम्बोधन गरेर एउटा कडा विज्ञप्ति जारी गर्न सरकारको ध्यानाकर्षण समेत गरे । 

केही दिनअघि चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग प्रमुखले गरेको नेपाल भ्रमण र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले गरेको भारत भ्रमणलाई भने उनले सकारात्मक बताए । 

प्रतिकृया दिनुहोस्