×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कांग्रेसको १४ दिने चुनावी अभियानमा के हुन्छ?

कांग्रेसको १४ दिने चुनावी अभियानमा के हुन्छ?

काठमाडौं- नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन केन्द्रित १४ दिने अभियान देशभर सञ्चालन गर्ने भएको छ।

कांग्रेसले भदौ १० गतेदेखि २४ गतेसम्म देशव्यापी रूपमा निर्वाचन केन्द्रित अभियान सञ्चालन गर्ने भएको हो। शनिबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय सदस्यहरूलाई ७७ वटै जिल्लामा प्रतिनिधिका रूपमा खटाएर निर्वाचन केन्द्रित अभियान सञ्चालन गर्ने जानकारी दिए।

अभियानका क्रममा कांग्रेसको सम्पूर्ण संरचनालाई आगामी निर्वाचनका लागि चलायमान बनाइने उनले बताए। ‘पार्टीको जिल्ला, क्षेत्र, प्रदेश, पालिका, वडा, टोल कार्यसमिति तथा भातृ संस्थाहरूलाई निर्वाचनका लागि चलायमान बनाउन यो अभियान सञ्चालन गरिएको हो’, पौडेलले मुलुक प्रेससँग भने,’पार्टीको नीतिलाई आम जनतासम्म पुर्‍याउने काम पनि अभियानका क्रममा नेताहरूले गर्नुहुने छ।’

कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले अभियानका क्रममा जिल्लामा के-के गतिबिधि सञ्चालन गर्न सकिन्छ भनेर सुरुमा केन्द्रीय प्रतिनिधिको उपस्थितिमा जिल्ला कार्यसमितिको बैठक बसेर कार्यक्रम निर्धारण गरिने बताए।

‘कुनै क्षेत्रमा आमसभा गर्न आवश्यक ठाने त्यो पनि हुन सक्छ तर आमसभा भन्दा पनि पार्टीका बिभिन्न संरचनाहरूलाई सक्रिए बनाउने तथा आम जनतासँग पार्टीको नीति पुर्‍याउने नै अभियानको उद्देश्य हो’, पाण्डेले भने।

अभियानको नाम तथा प्रतिनिधि पठाउनेबारे महामन्त्रीहरूले तयारी गरिरहेको उनले जानकारी दिए। अभियानका क्रममा सम्बन्धित प्रदेशले पनि प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई सम्बन्धित प्रदेशका प्रदेश निर्वाचन क्षेत्रमा खटाउने पाण्डेले जानकारी दिए।

प्रदेश निर्वाचन क्षेत्रको संख्या ३३० छ। कांग्रेसले आफ्नो पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिका लागि साउन ३० र ३१ गते प्रशिक्षण कार्यक्रम राखेकाले अभियानका लागि यसअघि निर्धारण गरेको मितिलाई कार्यसम्पादन समितिले परिमार्जन गर्दै नयाँ मिति तय गरिएको हो।

प्रतिकृया दिनुहोस्