एजेन्सी - युइएफए च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)को मैदानमा जित दर्ता गरेको छ । खेलको पहिलो हाफमा पछि रहे पनि सिटीले उत्कृष्ट पुनरागमन गर्दै २–१ को जित हासिल गरेको हो ।
पहिलो हाफमा सिटी खेलमा पछि रहे पनि दोस्रो हाफमा पेप ग्वार्डिओलाको टोलीले सानदार पुनरागमन गर्यो । ६४ औं मिनेटमा केभिन डे ब्रुयने गोल गर्दै खेल बराबरीमा ल्याए । डे ब्रुयनेले क्रस गर्न खोजेको बल गोलरक्षक नाभास समेतलाई झुक्याउँदै गोलमा परिणत भएको थियो ।
खेल बराबरीमा भएको ८ मिनेट नबित्दै सिटीले अग्रता लिएको थियो । रियाद माहरेजले फ्रिकिकमा सिधै गोल गर्दै सिटीलाई महत्त्वपूर्ण अग्रता दिलाए ।
खेलमा पछि परेको पिएसजीले ७८ औं मिनेटमा एक खेलाडी पनि गुमाउन पुग्यो । मिडफिल्डर इड्रीसा गेयेले इल्काए गुन्डोगनमाथि डरलाग्दो ट्याकल गरेपछि रेफ्री फेलिक्स बिर्चले सिधै रातो कार्ड देखाए । इन्ज्युरी समयमा सिटीले अग्रता बढाउने अवसर पाएपनि डे ब्रुएनको प्रहार पोस्टभन्दा माथिबाट गयो ।
यस जितसँगै सिटीले घरेलु मैदानमा हुने दोस्रो लेगअघि महत्त्वपूर्ण अग्रता पाएको छ । दोस्रो लेग मंगलबार सिटीको मैदानमा हुनेछ । अर्को सेमिफाइनलमा चेल्सीले रियल म्याड्रिडको मैदानमा १–१ को बराबरी खेलेको थियो । फाइनल खेल २९ मेमा टर्कीको इस्तानबुलमा हुनेछ ।