काठमाडौ - जिल्ला प्रशासन कार्यालय काठमाडौँले राजधानीका तीन तोकिएका स्थानबाहेक अन्य क्षेत्रमा कुनै पनि प्रकारका विरोध तथा प्रदर्शनका कार्यक्रम गर्न रोक लगाएको छ। आइतबार एक विशेष सूचना जारी गर्दै जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले उक्त आदेश जारी गर्नुभएको हो।
जारी आदेशअनुसार, अब काठमाडौँको सिफल चौर, कोटेश्वरदेखि बालकुमारीसम्मको क्षेत्र र बल्खु क्षेत्रमा मात्र विरोधका कार्यक्रम गर्न पाइनेछ। यी तीन स्थानबाहेक अन्य कुनै पनि ठाउँमा आगामी दुई महिनासम्मका लागि धर्ना, घेराउ, जुलुस र प्रदर्शन जस्ता गतिविधि गर्न पूर्ण रूपमा निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेको छ।
प्रशासनले यस निर्णयको कारण खुलाउँदै भनेको छ, "तोकिएका क्षेत्रबाहेक अन्यत्र गरिने प्रदर्शनले आम जनमानसमा त्रास, अवरोध वा अशान्ति फैलाउने, सार्वजनिक सेवा प्रवाहमा बाधा पुऱ्याउने, सार्वजनिक सम्पत्तिको नोक्सानी हुने तथा सामाजिक सद्भावमा खलल पुग्न सक्ने सम्भावनालाई ध्यानमा राखेर यो कदम चालिएको हो।"
यसै सन्दर्भमा जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, एसएसपी विश्व अधिकारीले इन्द्रेणी टाइम्सलाई बताउनुभयो, "विभिन्न विरोध प्रदर्शनका कारण अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह र सार्वजनिक यातायात सञ्चालनमा कठिनाइ भएको भनी व्यापक जनगुनासो आएपछि सोही आधारमा यो निर्णय लिइएको हो।" उहाँका अनुसार, सोमबारदेखि माइतीघर मण्डलालगायत विगतमा प्रदर्शनका लागि प्रयोग हुँदै आएका अन्य चल्तीका स्थानहरूमा पनि विरोध कार्यक्रम गर्न पाइने छैन।
प्रशासनको यो पछिल्लो कदम विशेषगरी पछिल्लो समय सक्रिय देखिएका राजावादीहरूको गतिविधिलाई नियन्त्रण गर्ने उद्देश्यले चालिएको अनुमान गरिएको छ।