विराटनगर- सुनसरीको इटहरीमा विस्फोटक पदार्थ पड्किँदा दुई जना घाइते भएका छन् । इटहरी उपमहानगरपालिका २ स्थित नवजागृति टोलको एक घरमा सोमबार बेलुकी पौने ११ बजेतिर विस्फोटक पदार्थ पड्किँएको हो ।
सुनसरीका प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापाकाअनुसार रविन थापा बस्दै आएको कोठामा विस्फोट हुँदा उनीसहित दुई युवा घाइते छन् । विस्फोटबाट थापा र लमजुङ घर भएका २३ वर्षीय शेरजङ गुरुङ घाइते भएका छन् । गुरुङ दुई सातादेखि थापाको कोठामा बस्दै आएका थिए ।
कोठाभित्र झोलामा रहेको सुतली बम विस्फोट भएको प्रहरीको अनुमान छ । थापाको विराटनगरस्थित आँखा अस्पतालमा तथा गुरुङको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । दुवैको अवस्था सामान्य छ ।
बम विस्फोट भएको थापाको डेराबाट प्रहरीले हिमाल सुरक्षा परिषद्को पर्चा बरामद गरेको छ । गत फागुनदेखि यो परिषद्ले सशस्त्र संघर्ष थालेको बताएको थियो ।