×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रतिपक्षीको एक सूत्रीय माग: संसद चल्न गृहमन्त्रीले राजीनामा दिनुपर्ने

प्रतिपक्षीको एक सूत्रीय माग: संसद चल्न गृहमन्त्रीले राजीनामा दिनुपर्ने

काठमाडौं-  सभामुख देवराज घिमिरेले संसदमा जारी अवरोध अन्त्य गर्ने र बजेटमाथिको छलफलका लागि समय निर्धारण गर्ने उद्देश्यले विभिन्न दलका मुख्य सचेतक तथा प्रमुख सचेतकहरूसँग छलफल गर्नुभएको छ। सभामुखको सचिवालयका अनुसार आज भएको छलफल मुख्यतः संसदको गतिरोध अन्त्य गर्ने विषयमा केन्द्रित थियो।


प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) लगायतका विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र निष्पक्ष छानबिन हुनुपर्ने मागलाई प्रमुख अडानका रूपमा प्रस्तुत गर्दै आएका छन्। जेठ १५ गते संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्थालाई मध्यनजर गर्दै विपक्षी दलहरूले उक्त दिन अवरोध नगरेको बताएका थिए। तर, आफ्ना मागहरू सम्बोधन नभए आगामी दिनमा संसद चल्न नदिने माओवादी केन्द्रसहितका विपक्षी दलहरूले आफ्नो अडान पुनः दोहोर्‍याएका छन्।


आजको छलफलपश्चात् माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले आफ्ना मागहरू पूरा नभएसम्म सदन चल्न नदिने अडान सभामुखसमक्ष राखिएको बताउनुभयो। त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पनि गृहमन्त्री लेखकको राजीनामा र प्रकरणको छानबिनका लागि समिति गठन नभएसम्म सदनको कारबाही अघि बढ्न नदिने धारणा व्यक्त गर्नुभएको छ।


यद्यपि, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भने संसद अवरोधको विषयमा औपचारिक रूपमा कुनै कुराकानी नभएको प्रतिक्रिया दिनुभएको छ।


प्रतिनिधिसभाको अर्को बैठक यही जेठ २० गतेका लागि आह्वान गरिएको छ।

प्रतिकृया दिनुहोस्