काठमाडौ - नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहुँच विस्तार गर्ने क्रममा कुवेतसँग एक महत्त्वपूर्ण सहकार्यको हात बढाएको छ। नेपाल क्रिकेट संघ (क्यान) र कुवेत क्रिकेट बोर्डबिच पुरुष तथा महिला दुवै टोलीका लागि वार्षिक द्विपक्षीय शृंखला सञ्चालन गर्ने ऐतिहासिक सहमति भएको छ।
यो सम्झौता अनुसार, सन् २०२६ देखि नेपाल र कुवेतले हरेक वर्ष एकअर्काको देशमा पालैपालो गरी क्रिकेट शृंखला आयोजना गर्नेछन्। शृंखला अन्तर्गत महिला र पुरुष दुवैतर्फ कम्तीमा तीनवटा टी-२० अन्तर्राष्ट्रिय खेल र आवश्यकता अनुसार ५० ओभरका खेलहरू पनि हुनेछन्।
यस सहकार्यले नेपाली खेलाडीहरूलाई नियमित अन्तर्राष्ट्रिय खेल अनुभव प्रदान गर्ने र एसोसिएट राष्ट्रहरूबीच प्रतिस्पर्धी क्रिकेटको विकासमा टेवा पुऱ्याउने विश्वास क्यानले लिएको छ।
विशेषगरी, आउँदो अक्टोबरमा ओमानमा हुने आईसीसी टी-२० विश्वकप एसिया छनोटमा नेपाल र कुवेत एउटै समूहमा छन्। उक्त छनोटबाट शीर्ष ३ टोलीले सन् २०२६ को विश्वकपमा स्थान बनाउने हुँदा यो सहमतिलाई रणनीतिक रूपमा पनि हेरिएको छ।