काभ्रे, जिल्लाको बेथानचोक -६ भुग्देउमा खानेपानी आयोजना सम्पन्न गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । बेथानचोक गाउँपालिका र रोटरी क्लब बौद्धको संयुक्त लगानी नेपाल स्वास्थका लागि पानी(नेवा) को प्राबिधिक सहयोग र सिउरानी भन्ज्याङ्खर्क खानेपानी तथा सरसफाइ समितिबीच सम्झौता भएको हो ।
रोटरी क्लब बौद्धका अध्यक्ष आङ् कुसाङ शेर्पा , बेथानचोक गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिना र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी , नेवा संस्थाका प्राबिधिक प्रबन्धक अरुणकुमार श्रेष्ठ र सिउरानी भञ्ज्याङ्खर्क खानेपानी तथा सरसफाइ समितीका अध्यक्ष रामबहादुर तामाङ बिच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भण्डारीका अनुसार आयोजना सम्पन्न भएपछी बेथानचोक गाउँपालिका -६ भुग्देउका करिब २३३ घरधुरीले उक्त खानेपानी सुबिधा प्राप्त गर्नेछन । आयोजनाको अनुमानित लागत करिब २ करोड छ । आयोजनाका लागि नेवा संस्था मार्फत रोटरी क्लब बौद्धले ९२ लाख ७३ हजार नौसय त्रिचालीस रुपैयाँ उपलब्ध गराउनेछ भने बेथानचोक गाउँपालिकाले ५० लाख बजेट उपलब्ध गराउनेछ र बाँकी जनसहभागिता लगायत स्रोतबाट ब्यहोरिने गाउँपालिका अध्यक्ष तिमल्सिनाले बताए ।
समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा गाउँपालिका अध्यक्ष तिमल्सिनाले आउँदो आर्थिक बर्ष भित्र एक घर एक धारा कार्यक्रम सम्पन्न गर्ने गरि काम अगाडि बढाएकाे र यसलाई कार्यन्वायन हुन बाँकी गाउँपालिकाका अन्य बस्तीमा पनि खानेपानी ब्यवस्थापन गर्न अरु सँस्थाहरुसँग पनि सहकार्य गरिने बताए ।