काठमाडौँ - रामेछापमा जीप दुर्घटना हुँदा ३ जनाको निधन भएको छ । काठमाडौँबाट ओखलढुंगा जाँदै गरेको जीप रामेछापमा दुर्घटना हुँदा ३ जनाको निधन भएको जिल्ला प्रहरी कार्यालय, रामेछापका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले जानकारी दिए ।
बिहीबार (आज) बिहान मन्थली नगरपालिका वडा नं. ६ हात्तीटार कुनौलीबाट जीप खसेर दुर्घटनामा परेको हो । दुर्घटनामा सख्त घाइते भएका उनीहरूलाई सामाखुसी अस्पतालमा लगिएको थियो । उनीहरूको त्यहीँ निधन भएको निरीक्षक श्रेष्ठले बताए । प्रदेश नं. ३ –०१–०२३–च–३५१३ नं.को जीप सडकबाट ६–७ सय मिटर तल खसेको हो । घटनास्थलबाट एकजना बालकको उद्धार गरिएको छ । जीपमा ४जना सवार रहेको निरीक्षक श्रेष्ठले बताए ।
निधन हुनेहरूमा ओखलढुंगा घर भएका अन्दाजी ३४–३५ वर्षीय लाक्पा शेर्पा र उनकी श्रीमती फुरूवा शेर्पा रहेका छन् । अर्का एक जनाको भने पहिचान भइनसकेको प्रहरीले जनाएको छ । घाइते बालक अन्दाजी १२ वर्षीय पेम्बा शेर्पा रहेका छन् । उनलाई भने काठमाडौँ रेफर गरिएको छ ।