×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भारत अहमदावादमा विमान दुर्घटनामा २४१ जनाको मृत्यु भएको पुष्टि

भारत अहमदावादमा विमान दुर्घटनामा २४१ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं - भारतको गुजरातस्थित अहमदावादमा एयर इन्डियाको एक विमान उडेको दुई मिनेटमै दुर्घटनाग्रस्त हुँदा २४१ जनाको मृत्यु भएको छ । विमानमा सवार २४२ जनामध्ये एक जनामात्र बाँच्न सफल भएका छन् ।

एयर इन्डियाले आफ्नो सामाजिक सञ्जाल एक्स (पहिलेको ट्विटर) मार्फत दुर्घटनाको पुष्टि गरेको छ । बिहीबार दिउँसो भारतीय समय अनुसार २ बजेर ३८ मिनेटमा अहमदावादबाट बेलायतको लन्डनका लागि उडेको एयर इन्डियाको बोइङ ७८७-८ विमान २ बजेर ४० मिनेटमा खसेर आगलागी भएको थियो ।

टाटा कम्पनीको स्वामित्वमा रहेको सो विमानमा २३० जना यात्रु र १२ जना चालक दलका सदस्य थिए । घटनास्थलको अवलोकनपछि भारतीय गृहमन्त्री अमित शाहले विमानमा रहेका एक यात्रु उछिट्टिएर बाँच्न सफल भएको र उनको उपचार भइरहेको जानकारी दिए । ती यात्रु भारतीय मूलका ब्रिटिश नागरिक हुन् ।

गृहमन्त्री शाहले भने, "विमानमा सवा लाख लिटर इन्धन भएकाले आगो यति भयानक थियो कि एकजना बाहेक सबैको ज्यान गयो । लगभग सबै शव संकलन भइसकेको छ र डीएनए परीक्षणपछि मृतकको आधिकारिक संख्या घोषणा गरिनेछ ।"

भारतीय सञ्चारमाध्यमहरूका अनुसार दुर्घटनामा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीको पनि निधन भएको छ ।

यसैबीच, विमानको स्वामित्वकर्ता टाटा कम्पनीले दुर्घटनामा ज्यान गुमाउने सबैका परिवारलाई प्रतिपरिवार एक करोड भारतीय रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ । कम्पनीले घाइतेको सम्पूर्ण उपचार खर्च व्यहोर्ने र दुर्घटनाले क्षतिग्रस्त भएको घर पुनर्निर्माण गरिदिने प्रतिबद्धता पनि जनाएको छ ।

विमान दुर्घटनामा भएको जनधनको क्षतिप्रति भारतीय राष्ट्रपति, प्रधानमन्त्री, विभिन्न दलका नेताहरू तथा अमेरिका, बेलायत, क्यानडा, बंगलादेश, पाकिस्तान, माल्दिभ्स र नेपाललगायतका देशहरूले गहिरो दुःख व्यक्त गरेका छन् ।


 

प्रतिकृया दिनुहोस्