×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

छात्रा दुर्व्यवहार प्रकरण : हेटौँडा क्याम्पसका २ कार्यालय सहयोगी निलम्बित, छानबिन समिति गठन

छात्रा दुर्व्यवहार प्रकरण : हेटौँडा क्याम्पसका २ कार्यालय सहयोगी निलम्बित, छानबिन समिति गठन

हेटौँडा- मकवानपुरको हेटौँडा उपमहानगरपालिका-४ स्थित हेटौँडा क्याम्पसमा परीक्षा दिन पुगेका दुई छात्रालाई चिट लुकाएको भन्दै दुर्व्यवहार गरेको आरोप लागेका कार्यालय सहयोगीलाई निलम्बन गरिएको छ ।

क्याम्पस प्रशासनले सर्वपक्षीय बैठक राखेर दुईजना कार्यालय सहयोगीलाई निलम्बन गर्ने निर्णय गरेको हो । विद्यार्थीहरूले दोषीलाई कारबाहीको माग गर्दै आज क्याम्पस परिसरमा नाराबाजी र तोडफोड गरेका थिए । 

मकवानपुरमा क्रियाशील विद्यार्थी सङ्गठनका प्रतिनिधि, अभिभावक तथा क्याम्पस प्रमुख रहेको सर्वपक्षीय बैठकले दुई कर्मचारीलाई अब कुनै पनि परीक्षा सञ्चालनमा सहभागी हुन नपाउने गरी निलम्बन गर्ने सहमति गरेको हो ।

बैठकले चार बुँदे सहमतिसहित ३ दिनभित्र प्रतिवेदन पेस गर्ने गरी छानबिन समिति पनि बनाएको छ ।

अब हुने परीक्षालाई भयरहित बनाउने, क्याम्पसको पठनपाठन शान्तिपूर्वक सञ्चालन गर्ने समेत सहमति भएको हेटौँडा क्याम्पसमा सहायक क्याम्पस प्रमुख देवीराम लामाले बताए ।

मकवानपुर बहुमुखी क्याम्पसबाट परीक्षाको लागि हेटौँडा क्याम्पस पुगेका दुई छात्राले कर्मचारीले आफूहरूलाई दुर्व्यवहार गरेको बताएका थिए ।

‘चिट लुकाएको’ भन्दै भन्दै आफूहरूको भित्री वस्त्रसमेत खोल्न लगाइएको ती छात्राको दाबी छ ।

पीडित विद्यार्थीले आफू महिनावारी भएको र ‘प्याड’ प्रयोग गरेको भन्दा समेत कर्मचारीले ‘प्याड’ मा समेत चिट हुन्छ भन्दै खोल्न लगाएको बताएका छन् ।

 

 

प्रतिकृया दिनुहोस्