काठमाडौँ - कोभिड खोप लगाएपछि महिलाहरूको महिनावारीमा हुने गडबडी र अस्वाभाविक रक्तस्रावबारे महिलाहरूलाई आश्वस्त तुल्याउन अनुसन्धान गर्नुपर्ने, प्रजनन्बारे जानकार एकजना प्रमुख रोगप्रतिरोधी विज्ञले आग्रह गरेकी छन्। बीएमजे जर्नलमा लेख्दै इम्पेलरिअल कलेज लन्डनकी डा. भिक्टोरिया मेलले भनेकी छन्- त्यो खोपका कारण भन्दा पनि शरीरको रोग प्रतिरोधी प्रतिक्रियाका कारण त्यस्तो भएको हुनुपर्छ। खोपले गर्भ वा प्रजनन्मा केही असर पर्छ भन्ने प्रमाण छैन।
यूकेको नियामक निकायले ३० हजारभन्दा बढी महिनावारी सम्बन्धी समस्याको गुनासो प्राप्त गरेको छ। तीनवटै मात्रा पछि महिलाहरूमा सामान्यभन्दा बढी रक्तस्राव, महिनावारीमा ढिलाइ र अस्वाभाविक रक्तस्राव देखिएको बताइएको छ। यूकेमा अहिलेसम्म ४ करोड ७० लाख भन्दा बढीलाई खोप दिइएको छ। रिपोर्टहरूको समीक्षा गरेपछि नियामक निकाय द मेडिसिन्स एन्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सीले कोभिड खोप र लक्षणबीच “सम्बन्ध छ भन्ने कुराको समर्थन गर्दैन” भनेको छ। महिनावारीमा गडबढ धेरै कारणले हुन सक्छ। त्यसबाट प्रभावित महिलाहरूको सङ्ख्या थोरै छ। भाइरसबाट सङ्क्रमित भएपछि र दीर्घ कोभिडबाट प्रभावितहरूमा पनि महिनावारीमा केही गडबडी देखिएको महिलाहरूले बताएका छन्। युवतीहरूमा कोभिड १९ खोपले उनीहरूको भावी गर्भावस्थालाई असर पार्ला कि भनेर आनाकानी गर्दै आएका छन्। अहिले उठाइएका गुनासाहरूबारे अनुसन्धान गर्न विफल भए त्यस्तो डर झन् बढ्न सक्छ। यदि खोप र महिनावारीमा गडबडी पुष्टि भयो भने त्यो समाचारले मानिसहरूलाई परिवर्तन हुन सक्ने महिनावारीबारे तयार राख्न सक्छ।
डा. मेल प्रजनन् प्रतिरोधी शक्तिबारे प्राध्यापन गर्छिन्। उनले भनिन्, “महिलाहरूले आफ्नो महिनावारी कस्तो होला भन्नेबारे जानकारी राख्न स्पष्ट र विश्वासिलो सूचना आवश्यक छ।” खोपले कसरी महिनावारीमा गडबडी ल्याउँछ भन्नेबारे वैज्ञानिकहरूले केही पत्ता लगाएका छैनन्। त्यो रोग प्रतिरोधी शक्तिसँग जोडिएको पनि हुन सक्छ- जु्न खोपका कारण सक्रिए बनेको हुन सक्छ। अथवा महिनावारी गराउने हर्मोनसँग जोडिएको कुरा पनि हुन सक्छ। तर त्यो गर्भाशयको भित्री तहमा रहेका रोग प्रतिरोधी कोषले फरक व्यवहार गरेका कारण पनि हुन सक्छ। ह्युमन प्यापिलोमाभाइरस वा अरू खोपले पनि महिनावारीमा त्यस्तै खालका गडबडी ल्याउने कुरासँग जोड्ने गरिएको छ। तर त्यो कसरी हुन्छ भन्नेबारे निकै कम अनुसन्धान भएको छ।
वैज्ञानिकहरू कोभिड खोपका कारण महिलाहरूको बच्च जन्माउने क्षमता प्रभावित नहुने बताउँछन्। विभिन्न परीक्षणले खोप लगाएका कारण महिलाको प्राकृतिक रूपमा वा कृत्रिम गर्भाधानबाट गर्भवती हुने कुरा परिवर्तन नहुने देखाएका छन्। पुरुषहरूमा गरिएको अनुसन्धानले पनि खोपका कारण वीर्यको गुणस्तरमा कुनै प्रभाव नपर्ने देखाएको छ। रोयल कलेज अफ अब्सटेट्रिसियन्स एन्ड गाइनोकोलोजिस्ट्सका उपाध्यक्ष डा. जो माउन्टफिल्डले महिनावरीमा हुने गडबडी चासोको विषय भए पनि त्यो एक वा दुई महिनासम्म रहेको पाइएको बताउँछिन्।