×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

स्पेनको औपचारिक भ्रमण सम्पन्न गरी प्रधानमन्त्री ओली स्वदेश फिर्ता

स्पेनको औपचारिक भ्रमण सम्पन्न गरी प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्कनुभएको छ। 'विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन'मा सहभागी हुन स्पेन जानुभएका प्रधानमन्त्री ओली कतारको दोहा हुँदै काठमाडौं अवतरण गर्नुभएको हो।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही असार १४ गते शनिबार स्पेन प्रस्थान गर्नुभएको थियो। स्पेन बसाइका क्रममा उहाँले महत्त्वपूर्ण उच्चस्तरीय भेटवार्ताहरू गर्नुभयो। प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भयो भने स्पेन सरकारका प्रधानमन्त्री पेड्रो साञ्चेजसँग पनि द्विपक्षीय वार्ता सम्पन्न भयो।

यसैगरी, उहाँले इस्टोनियाका राष्ट्रपति अलार कारिस, इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा कमाल माडबुली र पोर्चुगलका प्रधानमन्त्री लुइस मोन्टेनेग्रोसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्नुभयो।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले 'विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन'लाई सम्बोधन गर्नुभयो भने अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता पनि गर्नुभयो। विकास सहायता र नयाँ सोचसम्बन्धी विभिन्न छलफल सत्रहरूमा उहाँको सक्रिय सहभागिता रहेको थियो।

यसका साथै, प्रधानमन्त्री ओलीले म्याड्रिडस्थित विश्वप्रसिद्ध फुटबल क्लब रियल म्याड्रिडको सान्टियागो बर्नाबाउ रङ्गशालाको भ्रमण, स्पेनस्थित नेपाली दूतावासको निरीक्षण तथा त्यहाँ रहेका नेपाली समुदायसँग अन्तरक्रिया समेत गर्नुभएको थियो।

प्रतिकृया दिनुहोस्