काठमाडौं-एमाले अध्यक्ष केपी ओलीले रामचन्द्र पौडेल राष्ट्रियताको प्रस्तावमा अवरोध गर्ने र संसदीय प्रणालीमा बेठीक अभ्यासको सुरुवात गर्ने व्यक्ति भएकाले राष्ट्रपतिका लागि उपयुक्त उम्मेदवार नभएको टिप्पणी गरेका छन् । एमाले केन्द्रीय कार्यालयमा राष्ट्रपति निर्वाचनका लागि सांसदहरूलाई सोमबार प्रशिक्षण दिँदै ओलीले त्यस्तो टिप्पणी गरेका हुन् ।
‘नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल प्रजातन्त्रका लागि लामो समयदेखि लाग्दै आउनुभएको छ । तर, उहाँले सभामुख हुँदा के गर्नुभयो हामीले देखेका छैनौँ ?,’ ओलीले भने, ‘गोकुल बाँस्कोटाले तिथिमिति टिपेर राख्नुभएको छ । मैले संसद्मा ०५५ साउनमा कालापानी क्षेत्रमा भारतीय सेना छ । नेपालको भूभागमा भारतीय सेना रहेको विषयमा छलफल गरौँ भन्दा उहाँले छलफलको विषय नै होइन भनेर सभामुखको अधिकार प्रयोग गरेर सांसदहरूको अधिकार खोस्नुभएको थियो ।’
त्यतिवेला पौडेलले बहुमतको अहंकार देखाएर राष्ट्रियताको गम्भीर विषयसम्बन्धी प्रस्तावमा छलफल हुन नदिएर पदको दुरुपयोग गरेको इतिहास साक्षी रहेको ओलीले दाबी गरे । ‘०५४ मा एमालेका सांसद बोलाइबोलाइ सही गर्न लगाएर एमाले फुटाउन महत्वपूर्ण भूमिका खेल्ने मान्छे रामचन्द्र पौडेल हुन्,’ ओलीले भने, ‘संसदीय बेठीक अभ्यासको सुरुवात गर्ने उहाँ नै हो । केही पनि पालना गर्नुनपर्ने, जे पनि कुल्चिन मिल्ने व्यक्ति हो । व्यक्तिगत रूपमा उहाँ मेरो साथी हो । तर, सभामुखको रूपमा काम नलाग्ने मान्छे हो । राष्ट्रपतिमा त झन् काम नलाग्ने मान्छे हो ।’ पौडेलले राष्ट्रपति ठीक ढंगबाट चलाउनुहुन्छ भन्ने आशा नभएको भन्दै उनले त्यस्ता फेहरिस्त धेरै भएको दाबी पनि गरे ।
ओलीले प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि छलछाममा माहिर व्यक्ति भएको भन्दै कटाक्ष गरे । ‘एकजना नेपालको नेता हुनुहुन्छ । १० पुसमा भएको सहमति तोड्नुभयो । सहमति तोडेर राष्ट्रिय सहमति रटान लगाइरहनु भएको छ,’ प्रचण्डप्रति लक्षित गर्दै ओलीले भने ।