×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चुनावी चटारोमा ओलीको दौडधुप

चुनावी चटारोमा ओलीको दौडधुप

काठमाडौँ- स्थानीय तह निर्वाचन आउन ५६ दिन बाँकी रहँदा प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीको दौडधुप बढेको छ । १५ दिनको अवधिमा केन्द्रदेखि जिल्लासम्मका २० भन्दा बढी कार्यक्रममा सरिक भएर ओली मत मागिरहेका छन् । स्थानीय तह निर्वाचन आगामी ३० वैशाखमा हुँदै छ । यद्यपि, स्थानीय तहको चुनावमा पाँच दलीय गठबन्धन मिलेरै अघि बढ्ने देखिएकाले ओलीको दल एमालेलाई निर्वाचनमा जित हासिल गर्न निकै कठिन र चुनौती छ ।

दुई पटकसम्म मिर्गौला प्रत्यारोपण गरे पनि ओली ‘स्वस्थ्य व्यक्ति’सरह सक्रिय छन् । जिल्लामा हुने जुनसुकै कार्यक्रममा समेत उनले चुनावी अभियानबारे बोल्ने गरेका छन् । स्थानीय तह निर्वाचनमा एमालेले ६० देखि ७० प्रतिशत सिट ल्याउने दाबी गरिरहेको छ । तर, त्यसलाई वास्तविकतामा उतार्न एमालेका लागि फलामको च्युरा खाएसरह हुने बामविश्लेषकको भनाइ छ ।

पछिल्लोपटक गत २ चैतमा काठमाडौँमा भएको संसदीय दल बैठकमा सहभागी आफ्ना सांसदलाई ओलीले ६० देखि ७० प्रतिशतमा जित हासिल गर्नुपर्ने भन्दै सोहीअनुसार परिचालन हुन आफ्ना सांसदलाई निर्देशनसमेत दिए । स्थानीय तहमा एमालेको राम्रो जित हासिल गराउनसक्ने सर्तमा सांसदलाई ‘पुनः टिकट दिने’ आश्वासनसमेत उनले दिएका छन् ।

गत २ चैतमा संसदीय दल बैठकमा सहभागी उनी त्यसअघि जिल्ला दौडाहामा थिए । अहिले उनी हरेक दिन काठमाडौँ उपत्यकाबाहिर पुगिरहेका छन् । ओली दैनिक १८ घण्टा खट्ने गरेको उनको सचिवालयले जनाएको छ । निकै दौडधुप गरे पनि स्थानीय तह निर्वाचनमा एमालेलाई ‘पहिलो बनाउन’ भने उनीसामु चुनौतीको पहाड छ । ‘एमाले पहिलो बन्ने दाबी गरिरहे पनि उनले दाबी गरे’जस्तो सहज भने छैन ।

पाँच दलीय गठबन्धन संयुक्त रूपमा चुनावमा जानसक्ने भएकाले एमालेका लागि सबैभन्दा ठूलो चुनौती हुनसक्ने राजनीतिक विश्लेषकको भनाइ छ । यद्यपि, कठिन परिस्थिति बुझेका ओलीले त्यस्तो परिस्थितिलाई सहज बनाउन देशव्यापी अभियान चालेको हुनसक्ने देखिन्छ । १५ फागुनयता मात्रै ओली दुईपटक झापा पुगेका छन् । उनी गत २१ फागुनमा तत्कालीन झापा विद्रोहका बेला सुखानीमा सहादत प्राप्त गरेका सहिदको स्मृतिमा आयोजित कार्यक्रममा सहभागी भए । हरेक वर्ष एमालेले ‘सुखानी स्मृति दिवस’ मनाउने गरेको छ ।

२५ फागुनमा झापा हुँदै मोरङ पुगेर नेकपा माओवादी केन्द्रबाट निर्वाचित मोरङ रंगेली नगरपालिका प्रमुख दिलिपकुमार बगडिया, उपप्रमुख केशवकुमारी खनाल र दुई वडाध्यक्षलाई पार्टी प्रवेश गराए । सो कार्यक्रमबाट करिब ५ हजार जनाले एमाले प्रवेश गरेका थिए । झापाअघि ओली दोलखा पुगे । २० फागुनमा उनी साहित्यिक सांस्कृतिक महोत्सव उद्घाटन गर्न त्यहाँ पुगेका ओलीले कालिञ्चोक भगवती दर्शन गरे ।

२१ फागुनमा झापा पुगेका ओली एक रात उतै बसे भने २२ फागुनमा झापामै आयोजित नेपाल खेलकुद महासंघ प्रदेश अधिवेशन उद्घाटन गर्न पुगे । झापाबाट भक्तपुर बालकोटस्थित निवासमै २२ फागुनमा पार्टी प्रवेश कार्यक्रम आयोजना गरे । जहाँ ओलीले विवेकशील साझा पार्टी नेता अमृतराज वैद्यलगायतलाई एमालेमा प्रवेश गराए ।

२३ फागुनमा नवलपरासी गएका ओली कावासोती पुगेर मध्यबिन्दु बहुमुखी क्याम्पसको १६औं स्थापना दिवसमा सहभागी भए । नवलपरासीबाट सोही दिन पोखरा गएका ओलीले पोखरामा मानवअधिकार एलाइन्सको पाँचौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गरे । सोही दिन धौलागिरि जागरण दैनिकको १५औं वार्षिक उत्सवमा ओली सहभागी भए र चुनावबारे प्रवचन समेत दिए ।

त्यसदिन पोखरामै बसेका ओलीले २४ फागुनमा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई उपलब्ध गराएर गण्डकी अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्ट उद्घाटन गर्न भ्याए । एमालेको गण्डकी प्रदेश कमिटीले २४ फागुनमा पोखरामा आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा ओली प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।

सोही दिन पोखराबाट काठमाडौँ आएर ओली काठमाडौँमा अखिल नेपाल महिला संघले नारी दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा सहभागी भएर स्थानीय तहको निर्वाचन एमालेले अत्यधिक बहुमतका साथ जित्ने दाबी गरे । –राजधानी दैनिकबाट

प्रतिकृया दिनुहोस्