×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

त्रिभुवन विश्वविद्यालयका समस्या छिट्टै समाधान गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

त्रिभुवन विश्वविद्यालयका समस्या छिट्टै समाधान गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिभुवन विश्वविद्यालयका तत्कालका समस्या पहिचान गरी यथासम्भव समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । यसका लागि उनले विश्वविद्यालयलाई आवश्यक निर्देशन समेत दिएका छन् ।

मंगलबार त्रिभुवन विश्वविद्यालयको ६४ औँ वार्षिक दिवसलाई सम्बोधन गर्दै उनले उनले त्रिभुवन विश्वविद्यालयमा आबद्ध कर्मचारीका प्रतिनिधि, विद्यार्थी सङ्गठनका प्रतिनिधि तथा विश्वविद्यालयका पदाधिकारीहरूसँग भएका भेटघाट एवं छलफलका आधारमा त्रिभुवन विश्वविद्यालयको उन्नति र विकासका लागि अल्पकालिन र दीर्घकालिन योजनाहरू बनाई अगाडि बढ्नु आवश्यक रहेको बताए ।

‘त्रिभुवन विश्वविद्यालयका तत्कालका समस्या पहिचान गरी यथासम्भव समाधान गर्ने प्रयत्न गरिरहेको कुरा यस गरिमामय सभामा उल्लेख गर्नु सान्दर्भिक नै ठानेको छु,’ उनले भने, ‘त्रिभुवन विश्वविद्यालयमा आवद्ध शिक्षक, कर्मचारीका प्रतिनिधिहरू, विभिन्न विद्यार्थी सङ्गठनका प्रतिनिधि तथा विश्वविद्यालयका पदाधिकारीहरूसँग भएका भेटघाट एवं छलफलका आधारमा प्राप्त सूचना र जनचाहनाअनुरुप त्रिभुवन विश्वविद्यालयको उन्नति र विकासका लागि अल्पकालिन र दीर्घकालिन योजनाहरू बनाई अगाडि बढ्नु अत्यावश्यक छ । यसका लागि विश्वविद्यालयबाट पेस हुने उपयुक्त योजना र कार्यक्रममा नेपाल सरकारको तर्फबाट पूर्ण सहयोग रहने विश्वास दिलाउन चाहन्छु ।’

विश्वविद्यालयका समस्याहरूको समाधान संवाद एवं रचनात्मक सहयोगबाट गर्न समेत उनले सबै सरोकारवालासँग अपिल गरे । प्रधानमन्त्री दाहालले विद्यार्थीको रुचि अनुसार स्वदेशमै अध्ययन गर्नसक्ने अवस्था सिर्जना गर्न विश्वविद्यालयसँग आग्रह समेत गरे । प्रधानमन्त्री दाहालले विश्वविद्यालयको आफ्नो निश्चित शैक्षिक पात्रो बनाई सोहीअनुसार समयभित्रै पठनपाठन सम्पन्न गरी नतिजासमेत प्रकाशित गरी विद्यार्थी र अभिभावकहरूको समय, खर्च र भविष्यको सुरक्षा विश्वविद्यालयका पदाधिकारीहरूलाई निर्देशन दिए ।

‘हरेक वर्ष उच्च शिक्षाका लागि विद्यार्थीहरू विदेशिने क्रम किन बढिरहेको छ ?,’ उनले भने, ‘विद्यार्थीलाई उनीहरूको रूचिअनुसारका विषयहरूमा उच्च शिक्षा अध्ययन गर्न पाउने कार्यक्रमहरू ल्याउन र विदेशिन नपर्ने अवस्था सिर्जना गर्न म देशको सबैभन्दा ठूलो विश्वविद्यालयको हैसियतमा विश्वविद्यालयलाई विशेष अनुरोध गर्दछु । विश्वविद्यालयको आफ्नो निश्चित शैक्षिक पात्रो बनाई सोहीअनुसार समयभित्रै पठनपाठन सम्पन्न गरी नतिजासमेत प्रकाशित गरी विद्यार्थी र अभिभावकहरूको समय, खर्च र भविष्यको सुरक्षा विश्वविद्यालयका पदाधिकारीहरूलाई विशेष रूपले निर्देशित गर्दछु ।’

प्रतिकृया दिनुहोस्