सिन्धुली - सिन्धुलीको गोलाञ्जोर गाउँपालिका-६ बागेश्वरमा एउटै परिवारका १६ जना सदस्य सम्पर्कविहीन भएका छन्। गत आइतबारदेखि सिंगो परिवार नै सम्पर्कमा नरहेको स्थानीयले बताएका छन्।
वडाध्यक्ष रबिन श्रेष्ठले सामाजिक सञ्जालमार्फत यस घटनाबारे जानकारी गराएका हुन्। उनका अनुसार, घरमा भएका चौपाया अलपत्र अवस्थामा छन् भने परिवारका सबै सदस्य सम्पर्कमा छैनन्। घरमा कोही पनि नहुँदा चौपाया भोकै र अलपत्र परेका छन्।
घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले अनुसन्धान सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालयका डीएसपी अनिल खड्काले भने, "हामी यसबारे बुझ्दैछौं, घटनास्थलमा प्रहरी पठाइसकिएको छ र थप विवरण आउन बाँकी छ।"
स्थानीय बासिन्दाहरूले भने परिवार ठूलो आर्थिक ऋणमा डुबेकाले सम्पर्कविहीन भएको हुनसक्ने अनुमान गरेका छन्। वडासचिव गायत्री भण्डारीले पनि गाउँलेहरूको यही अनुमान रहेको बताइन्। "परिवारमाथि धेरै ऋण थियो, त्यसैले उनीहरू बसाइँ सरेको हुन सक्ने गाउँलेको अनुमान छ," उनले भनिन्।
यद्यपि, उनीहरू सम्पर्कविहीन हुनुको यकिन कारण भने खुल्न सकेको छैन र प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको छ।