साउथ इन्डियन फिल्मका सुपरस्टार नागा चैतन्य र समन्था अक्किनेनीले ४ वर्षको वैवाहिक सम्बन्ध विच्छेद गरेको घोषणा गरेका छन् । एक विज्ञप्ति जारी गर्दै उनीहरुले आफूहरु अब अलग हुने फैसला गरेको प्रतिक्रिया दिएका छन् ।
साथै उनीहरुले यस मुद्दामा गोपनीयता दिन पनि सञ्चारमाध्यम समक्ष आग्रह गरेका छन् । समन्थाले सामाजिक सञ्जालमा लेखेकी छन्, मैले र नागा चैतन्यले आफ्नो बाटोमा हिँड्नका लागि पति पत्नीको रुपबाट अलग हुने फैसला गरेका छौं । एक दशकभन्दा लामो मित्रता हाम्रो सम्बन्धको मुख्य हिस्सा थियो । साथै हामीलाई विश्वास छ कि हाम्रो बीचमा एक विशेष सम्बन्ध रहनेछ ।
तर मिडियासमक्ष उनले गोपनीयताको माग समेत गरेकी छन् । उनले यस्तो कठिन समयमा आफूहरुलाई गोपनीयता र समर्थन चाहिएको भन्दै शुभचिन्तक र प्रशंसकहरुसँग अपिल समेत गरेकी छन् । उनले लेखेकी छन्, यो कठिन समयमा हाम्रो समर्थन गरिदिनुहोला जसले हामीलाई यसभन्दा अगाडि बढ्न मद्दत मिलोस् ।
दुई चर्चित दक्षिण भारतीय कलाकारको सम्बन्ध विच्छेदबारे केही दिनदेखि नै भारतीय सञ्चारमाध्यमले समाचार बनाउँदै आएका थिए । सम्बन्ध विच्छेदको फैसलापछि समन्था र चैतन्यलाई अदालतमा परामर्श समेत दिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस सम्बन्ध विच्छेदपछि अभिनेत्री समन्थाले ५० करोड रुपैयाँ पाउने बताइएको छ ।
समन्था अक्किनेनी र नागा चैतन्यले ६ अक्टोबर २०१७ मा गोवामा पहिले हिन्दू रीति रिवाज अनुसार र ७ अक्टोबरमा फेरि क्रिश्चियन रीति रिवाज अनुसार विवाह गरेका थिए । विवाहपछि समन्थाले आफ्नो नामको अगाडि अक्किनेनी जोडेकी थिइन् । जबकी सम्बन्ध विच्छेदपछि समन्थाले आफ्नो ट्वीटर ह्यान्डलबाट अक्किनेनी हटाएकी छन् । आगामी अक्टोबर ६ मा विवाहको चार वर्षगाँठ पूरा हुनुअघि नै उनीहरुले अलगिने घोषणा गरेका हुन् ।