काठमाडौं- थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिवार पेट, आन्द्रा तथा कलेजोसँग सम्बन्धित विशेषज्ञ चिकित्सकले निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएका छन् । नर्भिक अस्पतालमा कार्यरत ग्यास्ट्रोइन्टेरोलोजिस्ट प्रोफेसर.डा. सीताराम चौधरीले शनिवार निःशुल्क ओपिडी सेवा दिने भएका हुन् ।
पेट, आन्द्रा तथा कलेजोसँग सम्बन्धित स्वास्थ्य समस्या भएकाहरूले डा. चौधरीको निःशुल्क ओपिडीबाट लाभ लिन सक्ने अस्पतालले जनाएको छ । डा.चौधरीले बिहान १० बजेदेखि १२ बजेसम्म निःशुल्क ओपिडी सेवा दिनेछन् । नर्भिक अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विगत केही महिनादेखि प्रत्येक शनिवार निःशुल्क ओपिडी सेवालाई सञ्चालन गर्दै आएको छ । निःशुल्क ओपिडी सेवामा सर्वसाधारणको आकर्षण रहेको छ ।