काठमाडौं - प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनै पूर्णिमा (ऋषि तर्पणी) तथा रक्षाबन्धन पर्व आज देशभर श्रद्धा, भक्ति र हर्षोल्लासका साथ मनाइँदैछ।
आज बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीहरूले नदी, ताल, तलाउ तथा पोखरीमा स्नान गरी गुरु-पुरोहितबाट विधिपूर्वक मन्त्रिएको रक्षासूत्र (डोरो) हातमा बाँधिरहेका छन्। तागाधारीहरूले पुरानो जनै फेरेर नयाँ यज्ञोपवीत धारण गर्ने गर्दछन्। यसरी धारण गरिएको मन्त्रिएको यज्ञोपवीत र रक्षासूत्रले नकारात्मक तत्वबाट जोगाउने र शरीरलाई सुरक्षित राख्ने धार्मिक विश्वास छ।
पौराणिक मान्यताअनुसार, सत्ययुगमा दानवराज बलीले देवगणलाई लखेटेपछि गुरु वृहस्पतिले रक्षा विधान तयार गरी देवताहरूलाई रक्षासूत्र बाँधिदिएका थिए। अत्यन्त शक्तिशाली दानवराज बलीलाई समेत बाँध्न सफल भएको त्यही रक्षासूत्रले मानवलाई पनि सधैँ रक्षा गर्ने विश्वासका साथ यो परम्परा आजसम्म चल्दै आएको छ।
यही मान्यताअनुसार गुरु-पुरोहितले यजमानको दाहिने नाडीमा रक्षासूत्र बाँध्दा निम्न मन्त्र उच्चारण गर्ने गर्दछन्:
‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबलः। तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल।।’
धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमका अनुसार, यस मन्त्रको अर्थ हो, ‘जुन रक्षासूत्रले महान् बलशाली दानवराज बलीलाई बाँधिएको थियो, म तिमीलाई पनि त्यसैले बाँध्दछु, तिमी आफ्नो स्थानबाट विचलित नहोऊ।’ यसै मन्त्रलाई उच्चारण गर्दै ब्राह्मण पुरोहितले जप, तप र पूजा गरी तयार पारिएको डोरो यजमानको नाडीमा बाँधिदिने वैदिक परम्परा रही आएको छ।
यस दिन नौ प्रकारका गेडागुडी मिसाएर टुसा उमारी बनाइएको 'क्वाँटी' खाने चलन पनि छ। क्वाँटी खानाले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढ्ने जनविश्वास छ।