एजेन्सी - रुसको सुदूर-पूर्वी क्षेत्रमा करिब ५० जना यात्रु बोकेको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। अधिकारीहरूका अनुसार दुर्घटनास्थलमा तत्काल कोही पनि जीवित भेटिने संकेत देखिएको छैन। बिहीबार अमुर क्षेत्रको दुर्गम जङ्गलमा खसेको अङ्गारा एयरलाइन्सको एन्टोनोभ-२४ विमानमा ४३ यात्रु र ६ जना चालक दलका सदस्य गरी ४९ जना सवार थिए।
स्थानीय समयअनुसार दिउँसो १ बजे टिन्डा सहरतर्फ उडिरहेको विमान राडारबाट सम्पर्कविहीन भएको थियो। पछि, उद्धारका लागि पठाइएको हेलिकप्टरले टिन्डाबाट करिब १६ किलोमिटर टाढाको घना जङ्गलमा विमानको भग्नावशेष जलिरहेको अवस्थामा फेला पारेको थियो। दुर्गम र जङ्गली भू-भागका कारण उद्धार टोलीलाई घटनास्थलमा पुग्न कठिनाइ भइरहेको छ र अधिकांश खोजी तथा उद्धार कार्य हेलिकप्टरबाटै भइरहेको अधिकारीहरूले बताएका छन्।
प्रारम्भिक अनुसन्धानअनुसार, विमानले टिन्डा विमानस्थलमा अवतरणका लागि दोस्रो पटक प्रयास गर्दा दुर्घटनामा परेको हो। अवतरणका लागि दोस्रो पटक घुम्ने क्रममा विमानसँगको सम्पर्क टुटेको थियो। दुर्घटनाग्रस्त विमान करिब ५० वर्ष पुरानो सोभियत-डिजाइनको भएको बताइएको छ। रुसका दुर्गम क्षेत्रहरूमा यस्ता पुराना विमानहरूको प्रयोग अझै पनि व्यापक छ, जसका कारण बेलाबेलामा दुर्घटनाहरू हुने गरेका छन्।