काठमाडौं- रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। रामेछापको सुनापती गाउँपालिका-५ र खाँडादेवी गाउँपालिका-१ को सिमानामा आज बिहान बस दुर्घटना भएको प्रहरीले जनाएको छ।
घटनास्थलमा रहेकी सुनापति गाउँपालिकाकी उपाध्यक्ष गीता विष्ट चौलागाईंले मृतकको शव संकलन गर्ने र घाइतेहरुलाई उद्धार गरेर अस्पताल पुर्याउने काम भइरहेको जानकारी दिइन्। उनले हालसम्म ९ जनाको ज्यान गइसकेको बताइन्।
बा ३ ख ८३९६ नम्बरको बसमा २७ यात्रु सवार रहेको सुन्नमा आए पनि एकिन नभएको उनले सुनाइन्। विष्टका अनुसार घटना बिहान साढे ९ बजेको हो। घाइतेमध्ये प्राय सबैको अवस्था गम्भीर रहेको पनि उनले जानकारी दिइन्। विष्टका अनुसार बस सडकबाट करिब तीन सय मिटर तल खसेको छ। मृतक र घाइतेको पहिचान खुल्न सकेको छैन।
रामेछापका प्रमुख जिल्ला अधिकारी दीपक कुमार पहाडीले दुर्घटनामा थुप्रै हताहत भएको सूचना आएको जानकारी दिए। उनले भने, ‘उद्धारकार्य जारी छ, अहिलेसम्म ९ जनाको मृत्यु भएको सूचना आएको छ।’ उनले गम्भीर घाइतेहरुलाई हेलिकोप्टरबाट उद्धार गर्ने प्रयास भइरहेको जानकारी दिए।