काठमाडौं- रुपन्देही क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उमेदवारी खारेजविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ रोकिएको छ । आफ्नो उम्मेदवारी खारेजीविरुद्ध गुरुङले सर्वोच्चमा हालेको रिट आज (शुक्रबार) पेशी चढेको थियो ।
रिटमा प्रारम्भिक सुनुवाइको लागि शुक्रबार न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा पेशी तोकिएको थियो । तर रिटको सुनुवाइ गुरुङकै कानुन व्यवसायीबाट स्थगित भएको हो ।
उम्मेदवार गुरुङ कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारी खारेज गरिदिएको थियो । तर आफू व्यक्तिगत रुपमा कालोसूचीमा परेको नभई आफ्नो कम्पनी मात्रै कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको र उक्त निर्णय बदरका लागि अदालत पुगी मुद्दा विचाराधीन रहेको भन्दै निर्वाचन अधिकृतको निर्णयविरुद्ध गुरुङ सर्वोच्च गएका हुन् ।
सत्ता गठबन्धनले राजनीतिक पूर्वाहग्रहका आधारमा निर्वाचन अधिकृतले गुरुङको उम्मेदवारी खारेज गरिएको भन्दै उम्मेदवारी कायम राखिदिन मागसहित बुधबार ज्ञापनपत्र बुझाएको थियो । रुपन्देही–२ का निर्वाचन अधिकृत उदवीर नेपाली राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाको स्वकीय सचिवको जिम्मेवारीमा रहिसकेको र उनकी पत्नी नेकपा एमालेको तर्फबाट गण्डकी प्रदेशमा सांसद रहिसकेका कारण उनी पूर्वाग्रही देखिएको गठबन्धनको ठहर छ ।