शारीरिक रुपले सक्रिय रहँदा हाम्रो शरीर स्वस्थ र आकर्षक देखिन्छ । शरीरको अनावश्यक बोसो घटाउन, मोटोपना नियन्त्रण गर्न तथा मुटु, रक्तनली सम्बन्धी रोग, मधुमेह र क्यान्सर जस्ता रोगहरुबाट बच्न चाहनुहुन्छ भने तपाईले आफ्नो शरीरलाई सक्रिय बनाउनुपर्छ ।
शारीरिक रुपमा सक्रिय रहनका लागि व्यायाम अनिवार्य छ । नियमित रुपमा शारीरिक व्यायाम गर्ने बानीले मांसपेशी र हड्डीहरु बलियो हुन्छ । व्यायाम गर्ने व्यक्ति मानसिक रुपमा स्वस्थ रहन्छ भने वौद्धिक क्षमता पनि वृद्धि हुन्छ । शारीरिक व्यायाम कति र कसरी गर्ने भन्ने विषय मानिसको उमेर अनुसार फरक– फरक हुन्छ ।
सबै उमेर समूहका व्यक्तिका लागि उपयुक्त शारीरिक व्यायाम दौडिने, जिउ तन्काउने, योग र श्वासप्रश्वासलाई धेरै बढाउने हो ।
मध्यम खालको शारीरिक व्यायाम भनेको श्वासप्रश्वासलाई हल्का बढाउने क्रियाकलाप हो । सामान्य खालका व्यायाम भनेको छिटोछिटो हिँड्नु, घरायसी कामकाज तथा बगैँचामा गरिने काम हुन् ।
कडा खालको शारीरिक व्यायाम भनेको श्वासप्रश्वासलाई धेरै बढाउने, थोरै बाल्दा पनि स्वाँस्वाँ हुने गरी दौडिने, उफ्रिने, पौडी खेल्ने, नाच्ने साइकल चलाउने कार्य हो ।
मांसपेशी बलियो पार्ने व्यायामहरु भनेका मांसपेशी समूहहरुलाई सक्रिय गर्ने व्यायाम हो । छाती, पेट, तिघ्रा, पिँडुला तथा ढाडको व्यायाम गर्न खुट्टा उठाउने, उठबस गर्ने गर्नुपर्छ ।