×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

 एनपीएल अक्सन: आदिलमाथि सबैको नजर, चार खेलाडीलाई सर्वाधिक १५ लाख

 एनपीएल अक्सन: आदिलमाथि सबैको नजर, चार खेलाडीलाई सर्वाधिक १५ लाख

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि खेलाडीको अक्सन शनिबार सम्पन्न भएको छ। ललितपुरमा भएको अक्सनबाट २६ खेलाडी विभिन्न फ्रेन्चाइज टोलीमा अनुबन्धित भएका छन् भने ११ खेलाडी 'विश लिस्ट' मार्फत टोलीमा सामेल भएका छन्।

यस पटकको अक्सनमा 'ए' श्रेणीका चार खेलाडीले सर्वाधिक १५ लाख रुपैयाँ मूल्य पाए। तीमध्ये मोहम्मद आदिल आलम अक्सनका सबैभन्दा चर्चित खेलाडी बने, जसलाई किन्न आठवटै फ्रेन्चाइज टोलीले अधिकतम बोली लगाएका थिए।

आदिललाई किन्न ८ टोलीबीच होड, काठमाडौं भाग्यमानी
अक्सनमा सबैभन्दा बढी चर्चा मोहम्मद आदिल आलमको रह्यो। उनलाई किन्न आठवटै फ्रेन्चाइज टोलीले 'ए' श्रेणीको सर्वाधिक १५ लाख रुपैयाँको बोली लगाएका थिए। उनी सबै टोलीबाट बोली लाग्ने एक्ला खेलाडी बने। अन्ततः 'लक्की ड्र' मार्फत काठमाडौं गोर्खाजले उनलाई आफ्नो टोलीमा अनुबन्ध गर्न सफल भयो।

यसैगरी, देव खनाल, पवन सराफ र अर्जुन साउदले पनि सर्वाधिक १५ लाख रुपैयाँ मूल्य पाए। उनीहरूलाई एकभन्दा बढी टोलीले अधिकतम बोली लगाएपछि 'लक्की ड्र' बाट अनुबन्ध गरिएको थियो।

देव खनाल (चितवन राइनोज): ब्याटर देवलाई चितवन राइनोज र लुम्बिनी लायन्सले अधिकतम बोली लगाएपछि 'लक्की ड्र' मार्फत चितवनले अनुबन्ध गर्‍यो।
पवन सराफ (कर्णाली याक्स): पवनका लागि कर्णाली, विराटनगर र लुम्बिनीले अधिकतम बोली लगाएका थिए, जसमा 'लक्की ड्र' मार्फत कर्णालीले बाजी मार्‍यो। चोटका कारण पवनले पहिलो संस्करण गुमाएका थिए।
अर्जुन साउद (चितवन राइनोज): विकेटकिपर ब्याटर अर्जुनलाई चितवन, कर्णाली र विराटनगरले बोली लगाएपछि 'लक्की ड्र' बाट चितवनले नै टिममा भित्र्यायो।

१० लाख मूल्य पाउने खेलाडीहरू
अक्सनमा 'ए' श्रेणीका सूर्य तामाङ र दिलिप नाथ १०-१० लाख रुपैयाँमा अनुबन्धित भए। सूर्यलाई विराटनगर किंग्सले किन्यो भने दिलिपलाई लुम्बिनी लायन्सले अनुबन्ध गर्‍यो। दिलिपमाथि लुम्बिनीले मात्र बोली लगाएको थियो।

त्यस्तै, अन्य चार खेलाडीले पनि १० लाख रुपैयाँ मूल्य पाए:

युवराज खत्री (कर्णाली याक्स): युवा लेगस्पिनर खत्रीलाई चार टोलीले बोली लगाएपछि 'लक्की ड्र' मार्फत कर्णालीले अनुबन्ध गर्‍यो।
शेर मल्ल (लुम्बिनी लायन्स): शेरलाई पनि चार टोलीले अधिकतम बोली लगाएपछि 'लक्की ड्र' बाट लुम्बिनीले भित्र्यायो।
सन्तोष यादव (काठमाडौं गोर्खाज): तीन टोलीले बोली लगाएपछि 'लक्की ड्र' मार्फत काठमाडौंले सन्तोषलाई किन्यो।
हेमन्त धामी (सुदूरपश्चिम रोयल्स): 'बी' श्रेणीका तीव्र गतिका बलर हेमन्तलाई चार टोलीले बोली लगाएपछि 'लक्की ड्र' बाट सुदूरपश्चिमले अनुबन्ध गर्न सफल भयो।

प्रतिकृया दिनुहोस्