काठमाडौं -अब अस्पतालमा घण्टौँ लाइन लागेर बिल तिर्ने झन्झटबाट मुक्ति मिल्ने भएको छ। स्वास्थ्यमन्त्री प्रदीप पौडेलको पहलमा देशभरका सबै संघीय अस्पतालमा अनलाइन र क्यूआर (QR) कोडमार्फत भुक्तानी अनिवार्य गरिएको छ।
स्वास्थ्य मन्त्रालयले बुधबार सबै संघीय अस्पताललाई पत्र पठाउँदै टिकट काट्नेदेखि बिल तिर्नेसम्मका कामलाई डिजिटल बनाउन निर्देशन दिएको हो। मन्त्री पौडेलले अस्पतालको भीड घटाउन र नागरिकलाई सहज सेवा दिन अघि सारेको नौ बुँदे सुधार योजनाअन्तर्गत यो व्यवस्था लागू गरिएको हो। अब मन्त्रालयले यसको कडाइका साथ अनुगमन गर्ने प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए।