×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मोरङमा २ बालिका बलात्कृत

मोरङमा २ बालिका बलात्कृत

काठमाडौं- मोरङका अलगअलग स्थानमा २ दिनको अवधिमा २ जना बालिका बलात्कृत भएका छन्।

उर्लाबारी र मिक्लाजुङमा ४ र ३ वर्षका बालिकामाथि बलात्कार भएको प्रहरीले जनाएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार दुवै घटनामा पारिवारिकभित्रकै व्यक्तिको संलग्नता पाइएको छ।

प्रारम्भिक अनुसन्धानबाट ३ वर्षीयालाई बलात्कार गरिएको घटनामा भने १२ वर्षका बालक संलग्न रहेको खुलेको दाहालले बताए। उनका अनुसार नाबालिका बलात्कारमा अभिभावक (काका र दाजु)को संलग्नता पाइएपछि गम्भीर ढंगले अनुसन्धान अघि बढाइएको छ।

उनले उर्लाबारी नगरपालिका–७ मा ४ वर्षकी नाबालिका शुक्रबार राति बलात्कृत भएको जानकारी दिए। पीडितका अभिभावक मोरङको कटहरी गाउँपालिका–३ घर भइ उर्लाबारी–७ मा डेरा बस्दै आएका थिए। नाबालिकालाई आफ्नै १९ बर्से काकाले बलात्कार गरेको डीएसपी दाहालले बताए।

उनका अनुसार ओछ्यानमा सँगै सुत्न भनेर लगेका काकाले राति ८ बजेतिर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। नाबालिकाले घटनाका बारेमा आमालाई सुनाएपछि उनीमाथि बलात्कार भएको विषय बाहिरिएको प्रहरीले जनाएको छ। नाबालिका भतिजीमाथि बलात्कार गर्ने काकालाई प्रहरीले राति ११ बजेतिर उर्लाबारीबाटै पक्राउ गरेको छ।

त्यस्तै, मिक्लाजुङ गाउँपालिका–४ मा बिहीबार साँझ ३ वर्षीया नाबालिका बलात्कृत भएकी छन्। तर, प्रहरीले भने घटनाका बारेमा भोलिपल्ट मात्रै जानकारी पायो। दलित समुदायकी नाबालिकालाई दाजु (ठूलोबुवाका छोरा)ले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पीडक पनि १२ वर्षका मात्रै छन्। कानुनले १८ वर्षभन्दा कम उमेरकालाई बालक मान्छ।  

घरमा अभिभावक कोही पनि नभएको बेला दाजुले नाबालिकलाई बलात्कार गरेको पाइएको डीएसपी दाहाल बताउँछन्। उनका अनुसार घटनाका बारेमा प्रहरीले शुक्रबार साँझ ७ बजेतिर जानकारी पाएको हो। त्यसलगत्तै परिचालित प्रहरीले नाबालिका बहिनीलाई बलात्कार गर्ने १२ वर्षीय बालकलाई उनकै घरबाट नियन्त्रणमा लिएको छ।

घटनामा संलग्नले बलात्कारपछि नाबालिकाको यौनांगलाई पानीले पखालिदिएको पाइएको प्रहरीले जनाएको छ। ‘घटनापछि दुवै नाबालिका मानसिक रूपमा विक्षिप्त बनेका छन्,’ डीएसपी दाहालले भने, ‘रुने, तर्सिने, डराउने र कराउने गरिरहेको पाइएको छ।’

पीडितलाई उपचार तथा स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको जानकारी उनले दिए। घटनामा संलग्नविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन अनुसन्धान अघि बढाउने प्रहरीको तयारी छ। शनिबार सार्वजनिक बिदा परेका कारण आइतबार म्याद थप गरेर प्रहरीले पीडकमाथि अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाउने भएको छ।

प्रतिकृया दिनुहोस्