×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

निजामती कर्मचारीलाई १५ दिनमा तलब दिन सुरु

निजामती कर्मचारीलाई १५ दिनमा तलब दिन सुरु

काठमाडौं -सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य सुरु गरेको छ। पाइलट परियोजनाको रूपमा उक्त कार्य बुधबारदेखि कार्यन्वयनमा आएको अर्थ मन्त्रालयले जनाएको छ। बुधबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमबिच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले १५ दिनमै कर्मचारीलाई तलब दिने कार्यको शुभारम्भ गरेका हुन्। 


महालेखा नियन्त्रक कार्यालयको कर्मचारीहरूलाई तलब प्रविष्ट गर्ने प्रणाली कम्प्युटराइज्ड गभरमेन्ट एकाउन्टिङ सिस्टम (सिगास)मार्फत कोष तथा लेखा नियन्त्रक कार्यालयमा भुक्तानी आदेश पठाई अर्थमन्त्री वाग्लेले १५ दिनमै तलब दिने कार्यको सुरुवात गरेका हुन्। अर्थमन्त्रीको सो आदेशसँगै अर्थ मन्त्रालयका कर्मचारीहरूले वैशाख महिनाको पहिलो अर्धमासिक तलब प्राप्त गरेका छन्।
 
१५ दिनमै तलब भुक्तानी कार्यको शुभारम्भ गर्दै अर्थमन्त्री डा. वाग्लेले अर्थतन्त्र चलायमान बनाउन सरकारले यस्तो निर्णय गरेको बताए। ‘१५ दिनमा तलब दिँदा बजार चलायमान हुन्छ। उपभोग र माग दुवै बढ्छ,’ उनले भने, ‘यो पाइलट परियोजनाको रूपमा संघीय निजामती कर्मचारीमा लागू गरिएको हो। विस्तारै सरकारी वेतनधारी सबैले यो सुविधा पाउनुहुन्छ।’


उनले मन्त्रालयले निर्णय गरेको ११ दिनमै प्राविधिक तयारी पूरा गरेर १५ दिनमै तलब दिन मेहनत गरेको भन्दै महालेखा नियन्त्रक कार्यालयलाई धन्यवाद दिए।

सो अवसरमा महालेखा नियन्त्रक शोभाकान्त पौडेलले अब विस्तारै प्रदेश तथा अन्य सेवाका सरकारी कर्मचारीले पनि १५ दिनमा तलब पाउने बताए। १५ दिनमा तलब दिन आफ्नो कार्यालय प्राविधिक रूपमा तयार रहेको भन्दै उनले यसलाई क्रमैसँग अघि बढाउने प्रस्ट पारे।

उनका अनुसार अहिले रहेको प्रणालीबाट १५ दिन वा एक महिना जुन समयमा कर्मचारीले तलबको माग गर्छन्, सोही समयमा तलब दिन सकिन्छ।

प्रतिकृया दिनुहोस्