×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

यस्ता छन् हालसम्मका १० रोचक मतपरिणाम

यस्ता छन् हालसम्मका १० रोचक मतपरिणाम

काठमाडौँ- स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रममा जारी छ । यसक्रममा केही स्थानमा निकै रोचक परिणामहरु समेत देखिएका छन् । अन्तिम मत परिणाम सार्वजनिक भइसकेका केही वडाहरुमा यस्तो रोचक नतिजा देखिएको हो । 

यस्ता छन् रोचक परिणाम

१. हार स्वीकार गरेर घर फर्किएका जोगीले जब ३ मतले जिते

धनगढी । कैलालीको घोडाघोडी नगरपालिका–११ मा मतगणनामा वडाध्यक्षमा नेपाली कांग्रेस र जसपाबीच तीव्र प्रतिस्पर्धा भइरहेको थियो । वडाध्यक्षका लागि कांग्रेसबाट राजकुमार कठरिया र जसपाबाट दानसिङ जोगी उम्मेदवार थिए । मतगणनाको अन्तिमतिर कांग्रेस विजयी भएको अपुष्ट खबर आयो । यो खबर सुनेपछि मतगणना स्थलमै रहेका जोगी हार स्वीकार गर्दै घर गए ।

यता कांग्रेसका नेता कार्यकर्ताहरू विजय उत्सव मनाउने तयारी गरिरहेका थिए । तर मतपरिमाण घोषणा हुँदा राजपाका जोगी विजयी भएपछि उनकाे विजयाेत्सव हुन सकेन ।

पराजित भएको भन्दै घर पुगेका जोगीले सामाजिक सञ्जालबाट आफू निर्वाचित भएको थाहा पाए । ‘म विजयी भएको रहेछु’, उत्साहित हुँदै उनले भने, ‘अचम्म मानेर फर्किएको छु ।’ झिनो मतले पाराजित भए भन्दै घर गएका जोगी नेपाली कांग्रेसका राजकुमार कठरियालाई ३ मतले पछाडि पार्दै विजयी भएका हुन् । उनले ६८२ मत पाए भने कठरियाले ६७९ मत पाए ।

२. भोट नदिएको भन्दै वडा अध्यक्षका उम्मेदवारले कुटे मतदाता

भोट नदिएको भन्दै जुम्ला नेपाली कांग्रेस पार्टीका नेताले मतदाता कुटेका छन् । कांग्रेसबाट उम्मेदवारी दिएका चन्दननाथ नगरपालिका(८ बाट अध्यक्षका उम्मेदवार रूपबहादुर रोकायाले मतदातामाथि कुटपिट गरेका हुन् ।

रोकायाले आफूलाई भोट नदिएको भन्दै सोही गाउँका कुमारविक्रम शाही र कमल बोहोरामाथि कुटपिट गरेका हुन् । रोकायाले भोट नहालेर धोका दिएको भन्दै कुटपिट गरेको पीडित पक्षको भनाइ छ । कुटाइबाट शाही घाइते भएका छन् ।

३. एक मतले हार–जित
काभ्रेको खानीखोला गाउँपालिकामा वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका सन्तमान थिङ विजयी भएका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका आशाराम गोलेले १ भोट कम ल्याएर हारेका छन् । माओवादीका थिङले ५४८ मत ल्याउँदा एमालेका गोलेले ५४७ मत ल्याएका छन्।

गुल्मीको कालिगण्डकी गाउँपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार रेशमराज न्यौपानेले पनि १ मतले जितेका छन् । रेशमराजले ७५६ मत ल्याउँदा माओवादी–एमाले गठबन्धनका उम्मेदवार शोभाखरले ७५५ मत पाएका छन् ।

४. दुई मतले हार–जित
मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका मोहनसिंह लालचन २ मत बढी ल्याएर विजयी भए । लालचनले ७६० मत ल्याए भने उनका प्रतिद्वन्द्वी एमालेका सञ्जयकुमार थकालीले ७५८ मत पाएका छन्।

५. प्रधानमन्त्री देउवाको गृह वडामै कांग्रेस पराजित
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको वडा डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ मा कांग्रेस पराजित भएको छ । वडाध्यक्षका उम्मेदवारलाई नेपाली कांग्रेस बिपीका उम्मेदवार नरेश भण्डारीले पराजित गरेका हुन् ।

६. उपमेयरका उम्मेदवारले पाए जम्मा १ मत
मनाङको मनाङ ङिस्याङ गाउँपालिका उपाध्यक्षमा राप्रपाका उम्मेदवार ज्यामयाङ टासी गुरूङले जम्मा एक मत पाएका छन्।

७. दाजुले हराए भाइलाई
इलामको रोङ गाउँपालिका वडा नं। १ मा नेपाली कांग्रेसका मनोहरी खड्काले आफ्नै भाइ नेकपा एमालेबाट उम्मेदवार मनोज खड्कालाई हराएका छन् । मनोहरीले ६१० र मनोजले ४८८ मत पाएका छन्।

८. बराबर भएपछि गोलाप्रथाबाट विजयी
रोल्पा नगरपालिका वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रका प्रकाश डाँगी गोलाप्रथाबाट विजयी भएका छन् । डाँगी र नेपाली कांग्रेसका देउचन घर्ती मगर दुबैले ५४३र५४३ मत प्राप्त गरेका छन् । गोलाप्रथाबाट डाँगी विजयी भएका छन् ।

९. स्वतन्त्रका सबै उम्म्दवार वडामा विजयी
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर १ को अध्यक्ष र अरु ४ जना स्वतन्त्रका वडा सदस्यका उम्मेदवार विजयी भएका छन् । स्वतन्त्र रूपमा उम्मेदवार बनेका सुन्दर ओलीले ५७७ मत ल्याएर निर्वाचित भएका हुन् ।

१०. पूर्वमन्त्रीसमेत रहेकी एमाले सचिवकै श्रीमान वडा सदस्यमा पराजित
स्याङजाको वालिङ नगरपालिका १ बाट वडा सदस्यमा उम्मेदवारी दिएका लक्ष्मीपति पौडेल पराजित भएका छन् । पराजित पौडेल नेकपा एमालेकी सचिव पद्मा अर्यालका श्रीमान हुन् भने उनलाई नेपाली कांग्रेसका सम्भव पौडेलले पराजित गरेका हुन्।

प्रतिकृया दिनुहोस्