काठमाडौं- स्थानीय तह निर्वाचनको मतगणना सुरु भएको एक सातापछि तीन वटा उपमहानगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।
११ वटा उपमहानगरपालिकामध्ये तीन वटाको नतिजा सार्वजनिक भएकोमा प्रमुख तीन वटै दलले खाता खोलेका छन्। नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले खाता खोलेका हुन्। कांग्रेसले नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुखमा जितेको छ। त्यहाँ प्रशान्त विष्ट मेयरमा निर्वाचित भएका छन्। उनले २३ हजार ४६० मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पशुपति दयाल मिश्रले ११ हजार ६ सय ७५ मत प्राप्त गरे। विष्ट गठबन्धनका साझा उम्मेदवारसमेत हुन्।
बाराको जितपुर सिमरा उपमहानगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्र विजयी भएको छ। नगरपालिकाको उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन्। माओवादी केन्द्रका उम्मेदवार राजन पौडेल १८ हजार ७ सय ४३ मत प्राप्त गर्दै मेयरमा विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नेकपा एमालेकी सरस्वती चौधरीले १७ हजार ७ सय ७९ मत प्राप्त गरिन्।
यस्तै, दाङको घोराही उपमहानगरपालिकामा नेकपा एमालेले जित हासिल गरेको छ। घोराहीको मेयरमा एमालेका नेता नरुलाल चौधरी ३१ हजार ७२८ मतका साथ विजयी भएका छन्। उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका भूपवहादुर डाँगीले १७ हजार ४८४ मत प्राप्त गरे। बाँकी उपमहानगरपालिकामा मत गणना जारी छ।