×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेपालमा साइकलको इतिहास

नेपालमा साइकलको इतिहास

साइकल आविष्कारको करिव १०० वर्ष पुग्न लाग्दा सन् १९१० मा भारतमा रहेको अंग्रेज सरकारले ३५ हजार थान साइकल बेलायतबाट भारत भित्राएका थिए । यी साइकलहरू विभिन्न प्रयोजनको लागि भित्राइएको थियो । भारत भित्रिएको यही साइकल मध्य केही नेपाल पनि भित्रिएको अनुमान गरिएको छ । त्यस बेलाका राणा श्री ३ महाराजाका छोरा नातिहरूको लागि केही साइकल भित्रिएको अनुमान गरिएको छ ।

श्री ३ वीर शम्शेरका वैज्ञानिक छोरा गेहेन्द्र शमशेरको निधन भइसकेको हुँदा नेपालमा साइकलको कुनै वैज्ञानिक आविष्कार हुन नै पाएन । तर उनका छोरा शूरशमशेर भने नेपालमा साइकल चढ्ने पहिलो व्यक्ति भएको अनुमान गरिएको इतिहास भेटिन्छ । तिर्थनारायण मानन्धरले आफ्नो पुस्तक “काठमाडौः उहिले र अहिले” मा शूर शमशेर नै साइकल भित्राउने व्यक्ति रहेको अनुमान गरेका छन् ।

उनको अनुमानमा सन १९०३ लेखिएको छ । तर भारतमा अंग्रेज सरकारको समयमा पहिलो खेपमा ३५ हजार थान साइकल भित्राएको नै सन १९१० मा भएको हुँदा सोही समय नै नेपालमा पनि साइकल भित्रिएको सहजै अनुमान गर्न सक्छौँ । यसपछि भारतीय व्यापारी सुधिर कुमार सेनले भारतमा साइकलको व्यवसायको सुरुवात नै गरेका थिए । उनले बेलायतको प्रख्यात साइकल रेलै साइकल (-Raleigh cycle)सँग मिलेर सेन रैले साइकल उत्पादन समेत गरेका थिए ।

सन् १९१० अर्थात् विसं १९६७ ताका नेपालमा पहिलो पटक साइकल भित्राउने शूर शमशेर सौखिन राणा सन्ततीमा पर्दथे । श्री ३ वीर शमशेरले आफ्ना छोरा गेहेन्द्र शम्शेरको लागि बनाइदिएको काठमाडौँको सबैभन्दा बढी सुविधा सम्पन्न दरवार सेतो दरवार छोरा गेहेन्द्रको युवाकालमा नै देहान्त भएपछि यो दरवार शूर शमशेरको हकमा आएको थियो । सौखिन शूर शमशेरले त्यतिबेला नै मूक चलचित्र (silent movie) को ठूलो संग्रह सेतो दरवारमा राखेका थिए । साथै उनी अत्तरका सौखिन थिए । जसले गर्दा विभिन्न किसिमका अत्तरहरूको संग्रह पनि उनको थियो ।

 

बाजे धीरशमशेर लखनउमा आक्रमणमा जाने समय नवावको दरवारबाट लिएर आएका विभिन्न अत्तरहरू पनि उनको संग्रहमा राखिएको थियो । तर दुखद् वि.सं. १९९० को वैशाखमा सेतो दरवारमा भएको भयानक आगलागीमा सेतो दरवारमात्र होइन उनको संग्रहमा रहेको कतिपय महत्वपूर्ण वस्तुहरू पनि जलेर नष्ट भए । भनिन्छ उनको संग्रहका अत्तरहरूको संग्रहमा आगलागी हुँदा त्यसको बास्नाले काठमाडौँ सहर नै सुगन्धित भएको थियो ।

यसरी शूर शमशेरको समय केवल सौखिन राणाहरू बिच मात्र सिमित रहन पुगेको साइकल यसको केही समयपछि नै विश्व युद्धको चपेटामा विश्वका प्रमुख राष्ट्रहरू पुगेपछि नेपाल पनि अछुटो रहन सकेन । नेपालका तत्कालिन महाराजा श्री ३ चन्द्रशमशेरले पनि अंग्रेजको सहायतार्थ नेपाली युवाहरूलाई गोर्खाली सैनिकको रुपमा युद्धमा होमिन बाध्य बनाए । साथै नेपाली सेनालाई पनि छोरा बबरशमशेरको नेतृत्वमा प्रथम विश्वयुद्धमा पठाए । युद्धको कारण २ लाख नेपालीहरू होमिए भने करिब २० हजारले जीवन गुमाए ।

करिब करिब त्यति नै संख्या अंगभंग भएर स्वदेश फर्किए । यसरी युद्धले नेपाली युवाको मृत्यु भए तापनि फर्किएका नेपाली लाहुरेले भने तत्कालिन समयमा नै करिब १५ करोड रुपैयाँ बराबरको भारतीय कम्पनी तथा बिभिन्न जिन्सी भित्राएका थिए । यसरी भित्रिएको जिन्सीमा साबुन, चुरोट, लाइटर, ब्लेड, तास, जुत्ता, मोजा आदि थिए । यसको साथै कतै कतै आफूले युद्धमा प्रयोग गरेको साइकल पनि लिएर आएको उल्लेख गरेको भेटिन्छ ।

प्रथम विश्वयुद्धमा सैनिक प्रयोजनको लागि विशेष प्रकारको आर्मी साइकलको पनि उत्पादन सुरुवात भएको थियो । साइकलमा नै बन्दुक राख्न मिल्ने गरि बनाइएका साइकलहरूमा सैनिकहरू लाम लागेर हिँड्दथे । छिटो पुग्न सकिने र सहजै आक्रमणको लागि तैयार हुन सक्ने हुँदा पनि साइकल यूनिट नै खडा गरिएको थियो । ५० देखि १०० माइलसम्मको दुरीमा दैनिक हिँड्न सकिने हुँदा पनि साइकल युनिटको महत्व प्रथम विश्व युद्धमा अत्यधिक भएको थियो ।

प्रथम विश्व युद्धको समाप्ती पछि स्वदेश फर्किएका केही गोर्खाली सैनिकहरूले विसं. १९७५–७७ तिर नेपालमा साइकल भित्राएको अनुमान गरिएको थियो । बि.सं. १९८१ सालमा आइपुग्दा भने राशन व्यापारी अष्टनारायणले असन कमलाक्षीको आफ्नै घरमा आफ्नो बुबाको नाम जोडेर पञ्चनारायण अष्टनारायण साइकल पसल नै खोले । अष्टनारायण कामको सिलसिलामा कलकत्ता पुग्दा उनले बजारमा देखिएको साइकल किनेर नेपालमा पनि बिक्री गर्ने अठोट गरे । उनले कलकत्ताबाट ६ वटा बेलायती हर्क्युलस साइकल किने ।

कलकत्ताबाट रक्सौलसम्म तथा रक्सौलबाट अमलेखगञ्जसम्म रेलमा ति साइकल आइपुग्यो । अमलेखगञ्जबाट लरीमा भिमफेदी ल्याएर त्यहाँबाट बोकेर काठमाडौ ल्याइपुर्याइयो । खर्चसर्च जोडेर एउटा साइकलको १०० रुपैयाँ पुग्न गयो । त्यतिबेला एउटा ठूलै अफिसरको तलब बल्ल महिनाको १०० हुन्थ्यो । हत्तपत्त कसैको साइकल किन्ने आँट आउँदैनथ्यो । त्यसैले ६ वटा साइकल बिक्न निकै लामो समय लाग्यो । करिब १ वर्षमा साइकल सबै बिके पछि फेरि कलकत्ताबाट नै साइकल ल्याइयो । यसपटक भने रोपवे बनिसकेको हुँदा भिमफेदी देखि भने भरियालाई बोकाउनु परेन । यसरी फिलिप्स, रेलै, हर्कुलस साइकल ल्याएर बेच्न थालेका थिए ।

खानेकुराको व्यापार गर्ने पञ्चनारायणको परिवारमा छोरा अष्टनारायणले साइकल बेच्न थाल्दा निकै गाली पनि खाएका थिए । तर पछि भने अष्टनारायणका छोरा तीर्थनारायणले पनि साइकल व्यवसायलाई नै निरन्तरता दिए । तीर्थनारायण पछि त्रिरत्न मानन्धरले पनि व्यवसायलाई निरन्तरता दिए । तीर्थनारायणका छोरा त्रिरत्नको समयमा भने साइकल आम मानिसको लागि आवश्यक भइसकेको थियो । बाबुलाई साइकल व्यवसायमा होमिएका त्रीरत्नले मेकानिकल इञ्जिनियरिङ अध्ययन गर्न पोलाण्ड नै पुगे ।

बाजेको समय देखिको नाममा भने केही छोटो बनाएर पञ्च अष्टनारायण साइकल पसल राखे । निकै ठूलो सपना बोकेर साइकल व्यापारमा होमिएका त्रीरत्नको अचानक २०४० सालमा मोटरसाइकल दुर्घटनामा देहान्त भयो । जसले गर्दा व्यवसायमा व्यवधान आयो । छोराहरू सानै भएको हुँदा काकाहरू सहितको संयुक्त परिवारले नै व्यवसाय धानिरहँदा पनि निरन्तरता नहुने हो कि भन्ने सम्म पुग्यो । तर अहिले त्रीरत्नका कान्छा छोरा तिरेकले युवाहरूको रोजाइसँग भिज्दै PANC Cycle नामबाट व्यवसायलाई अझ बढी बिस्तार गरेका छन् ।

अन्तत तिर्थनारायणका नाति तिरेकले साइकल व्यवसायलाई निरन्तरता दिइरहेका छन् । पञ्चनारायण अष्टनारायण साइकल पसल यो लामो नामलाई छोट्याए । सुरुका अंग्रेजी अक्षर PANC लाई मिलाएर PANC Bike नाम राखे । नयाँ पुस्ताका नयाँ सोच संगै अब भने तैयारी साइकल मात्र होइन आफूलाई मन पर्ने सामग्री राखेर नयाँ साइकल पनि बनाउने गरिन्छ ।

 

प्रतिकृया दिनुहोस्