काठमाडौं- नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को ११ औं स्थापना दिवस सम्पन्न भएको छ । सो अवसरमा बोल्ने वक्ताहरुले सहकारी र सञ्चारको सहकार्यमा रचनात्मक काम गर्न सकिने बताए । कार्यक्रममा बोल्ने वक्ताहरुले पत्रकारिता क्षेत्रबाट सहकारी क्षेत्रको विकृति, विसंगति अन्त्य गर्नुका साथै सहकारीको प्रवद्र्धनमा जोड दिनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलले सहकारी क्षेत्रको अध्ययन अनुसन्धान गरी खोजमुलक समाचार सम्पे्रषण गर्नुपर्ने बताए । सहकारीले सदस्यको जीवनस्तर सुधार गर्न जोड दिनुपर्ने उनले बताए ।
‘सहकारीले तीन खम्बे अर्थनीति अनुसार स्थापित हुन उत्पादनमा जोड दिनुपर्छ’ उनले भने । सत्थ्य, तथ्य समाचार सम्प्रेषणमा जोड दिनुपर्ने बताए । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का अध्यक्ष परितोष पौड्यालले निश्पक्ष ढगले कलम चलाउन सके सहकारी क्षेत्रको विकासमा सहयोग पुग्ने बताए । आर्थिक विकासमा सहकारीको महत्वपूर्ण योगदान हुने भएकाले सञ्चारमाध्यमले सहकारी क्षेत्रको विषयमा स्थान दिनुपर्ने बताए ।
राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले सञ्चार माध्यमकको सहयोगले सहकारी करेक्सन हुन मौका पाउने बताए । ‘सहकारीका सबै खाले समाचारले सहकारी प्रवर्द्धनमा सहयोग पुग्छ’, उनले भने, ‘सहकारीले खोजमूलक समाचार सम्प्रेषणमा ध्यान दिनुपर्छ ।’
नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष खिलानाथ दाहालको अध्यक्षमा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष यादव हुमागाईं र निवर्तमान अध्यक्ष डिल्लीप्रसाद सापकोटाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सचिव तुलसी सुवेदीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष काजी श्रेष्ठले स्वागत गरेका थिए ।
पत्रकारिता पुरस्कार कुँवरलाई
नेपाल सहकारी पत्रकार समाजको ११ औँ स्थापना दिवसको अवसरमा सिजेएन राष्ट्रिय पत्रकारिता पुरस्कारबाट राजधानी दैनिकका पत्रकार कौशिला कुँवरलाई पुरस्कृत गरिएको छ । सिजेएनकी सदस्य कुँवरले सहकारी क्षेत्रमा रचनात्मक कलम चलाएवापत पुरस्कृत गरिएको हो । त्यस्तै सिजऐन संस्थापक सम्मानबाट संस्थापक कोषाध्यक्ष सीता पोखरेललाई सम्मान गरिएको थियो ।