काठमाडाैँ । ग्रामिण भेगमा बैकिङ सेवा पुर्याई गरिबको घेरामा रहेका जनताहरुको जीवनस्तर उकास्नका लागि स्थापना भएका लघुवित्तहरुले ग्रामीण भेगमा जति सेवा पुर्याउनु पर्ने हो त्यति सेवा पुर्याउन नसकेको गुनासाहरु आईरहेका बेला जीवन बिकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलसगँ माइक्राेफाइनान्स एसाेसिएसन अफ नेपालकाे सहकार्यमा इन्द्रेणी टाइम्स डटकमका प्रधान सम्पादक बिश्वबन्धु भण्डारीले तिनै जनगुनासाका उत्तर खोज्नका लागि कुराकानी गर्नुभएको छ । सिईओ मंडलसगँ गरिएको कुराकानिमा आधारित सम्पादित अंश ।
१ जीवन बिकास लघुवित्तको वित्तीय अवस्था कस्तो छ ?
यो वित्तीय संस्था रु. ६० करोड ८४ लाख चुक्ता पूँजी भएको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था हो । हाल यस संस्थाको लगानी रु. २२.७४ अर्ब र बचत रु. ८.७३ अर्ब रहेको छ । निस्क्रिय कर्जा १ प्रतिशत भन्दा कम रहेको छ भने अन्य वित्तीय सूचकहरु पनि सन्तोषजनक रहेको छ । समग्रमा भन्दा यस संस्थाको वित्तीय आवस्था राम्रो रहेको छ ।
२ ग्रामीण भेगमा लघुवित्त संस्थाहरुको सेवा पुर्याउन के कस्तो कामहरु गरिरहनु भएको छ ?
लघुवित्त कार्यक्रमको उदेश्य गरीब विपन्न वर्गको गरीबी न्यूनिकरण गर्नु हो । जसको लागि मर्म अनुसारको लघुवित्त सेवा प्रदान गर्नु पर्छ । सबभन्दा पहिले वित्तीय सेवा नपाएको लक्षित वर्गको पहिचान गर्नु जरुरी हुन्छ । त्यसको लागि यो संस्थाले सहभागितामूलक सम्पत्ति स्तरीकरण (Participatory Waealth Ranking-PWR) विधिको प्रयोग गरिन्छ । त्यसपछि इच्छुक लक्षित वर्गलाई सहभागी गराई ७ दिनको समूह प्रवेश पूर्व तालिम (Pre Group Training-PGT) दिएर कार्यक्रममा आबद्ध गरिन्छ र उनीहरुलाई केन्द्र मार्फत वित्तीय तथा गैर वित्तीय सेवाहरु प्रदान गरि उनीहरुको जीवन स्तर उकास्ने काम गरिन्छ । यो संगै यो संस्थाले डिजिटल र सामजिक कार्यहरुलाई जोड दिएको छ भने वित्तीय साक्षरता र उधमशीलता विकासको लागि विभिन्न कार्यक्रमहरु संचालन गर्ने गरेका छौं ।
३ हालसम्म कति शाखाहरु बिस्तार भएका छन्, ति शाखाहरुवाट के–कस्ता सेवाहरु प्रदान गरिरहेको छ ?
हाल २१ जिल्लामा १४६ वटा शाखा कार्यालयमार्फत ३ लाख भन्दा बढी सदस्यहरुलाई सेवा प्रदान गरिरहेको छ । वित्तीय सेवा अन्तर्गत विभिन्न प्रकारका बचत, ऋण सेवा प्रदान गर्नुका साथै पशु विमा, बाली विमा, कर्जा विमा तथा रेमिट्यान्स सेवा प्रदान गरिरहेका छौं । डिजिटल सेवा अन्तर्गत सदस्यहरुको लागि जीवन विकास एप्स मार्फत आफ्नो कारोबार हर्न पाउनुका साथै फण्ड टान्सफर, युटिलिटी(मोवाईल, टिभी, विजुली, खानेपानीको विल) भुक्तानी लगायतका सेवाहरु प्रदान गरिरहेकोछ । योसंगै गाउँमा नै नगद राख्न र झिक्न पाउनेगरी अधिकृत टेलर सदस्य (Authorized Teller Member ATM) खडा गरिएको छ । सामाजिक कार्य अन्तर्गत विभिन्न किसिमका सामाजिक अभियानहरु संचालन गरिरहेकोछ ।
४ लघुवित्त क्षेत्र सेवामुखी भन्दा बढी नाफामूखी भयो भन्ने चर्चाहरु चलेका छन् के साँच्चै यस्तै भएको हो र ?
जे कुरालाई हाइलाईट गरिन्छ त्यही नै देखिने हो । नेपालमा लघुवित्तको शुरुवात गैर नाफामूलक संस्थाले गरेका थिए पछि नाफामूलक संस्था कम्पनीको रुपमा रुपान्तरण गरियो । स्वभाविक रुपमा संस्थाको प्रकृति अनुसार काम कार्यवाहीमा पनि फरक पर्छ । अहिले पत्रपत्रिकामा पनि संस्थाको मुनाफाको शिर्षक बन्छ, शेयर भ्यालूको चर्चा हुन्छ । लघुवित्तले गरेको विपन्न वर्गको सेवा र सामाजिक कार्यको उपेक्षा गरिएकोछ । लघुवित्त कार्यक्रमलाई समाजिक व्यवसायको रुपमा लिनुपर्ने हो । जसमा वित्तीय सूचकको सथै सामाजिक सूचकलाई त्यतिनै महत्व दिनुपर्छ । जसमा अहिले अलि ह्रास आएको अवस्था छ । अतः अहिले लघुवित्तबाट अलि अलि कमीकमजोरी त भएको देखिन्छ तर नाफामूखी मात्रै छ भन्न मिल्दैन ।
५ गरिबी न्युनिकरणका लागि स्थापना भएका लघुवित्त संस्थाहरुले अत्याधिक व्याज लिएर गरिबलाई झन् गरिब बनायो भन्ने गुनासाहरु धेरै सुनिन्छ यसमा तपाई के भन्न चाहानुहुन्छ ?
सबभन्दा पहिले त यो गुनासो गरीबको होइन । हुनेखाने र बैंकमा पहुँच हुनेहरुले वाणिज्य बैंकसँग लघुवित्तको ब्याज तुलना गर्छन् । जुन उचित होइन किनभने बाणिज्य बैंक र लघुवित्तले प्रदान गर्ने सेवामा अन्तर छ । त्यो बुझ्नु जरुरी छ । बाणिज्य बैंकको लक्षित वर्ग धनी, पुरुष, धितो भएका हुन्छन् भने लघुवित्तको लक्षित वर्ग गरीब, महिला, धितो नभएकाहरु हुन्छन् । बाणिज्य बैंकबाट सेवा लिन कार्यालय आउनु पर्छ भने लघुवित्तले घरदैलो सेवा प्रदान गर्दछ । बाणिज्य बैंकको औषत ऋणको आकार धेरै हुन्छ तर लघुवित्तको औषत ऋणको आकार थोरै हुन्छ । बाणिज्य बैंकले ऋण लगानी गरिसकेपछि असुली मात्र गर्छन् तर लघुवित्तले केन्द्र गठन गरेर उनीहरुको सशक्तिकरण गर्न विभिन्न किसिमका तालिम दिनुका साथै अन्य विभिन्न गतिविधिहरु गर्छन । सबभन्दा ठूलो कुरा त गरीब विपन्नहरु लघुवित्तको सरल प्रणालीका कारण सेवा पाउछन् । अझ विपन्नलाई ऋण मात्र दिएर हुदैन उनीहरुलाई ऋण चलाउन सिकाउनु पनि पर्छ । यसमा संचालन खर्च बढी हुने भएकोले बाच्न सक्ने ब्याज दर हुनु पर्छ । अझ भन्ने हो भने नेपालमा लघुवित्तको ब्याज दर संसार कै सस्तो छ ।
६ लघुवित्त संस्थाहरु आफ्ना सदस्यलाई उद्यमी बनाउनु भन्दा ऋण दिनमै केन्द्रित भएको आरोप छ नि ?
जीवन विकासले उधमी बनाउन लघुवित्त विभाग अन्तर्गत छुट्टै इकाई नै खडा गरेकोछ । मलाई लाग्छ धेरै संस्थाले त्यस्तो गरेकोछ । जसको काम उधमशिलता विकास गर्नु मात्र हो । हामीले उधमी बनाउन विभिन्न किसिमका तालिम, अन्तरक्रिया कार्यक्रम गर्नुका साथै सम्भावित उधमीहरुलाई सफल उधमीको अध्ययन अवलोकन समेत गरउने गरेका छौं । उधमीहरुको तथ्याँक राख्न शुरु गरेका छौं । अझ उधमीहरुलाई उत्प्रेरित गर्न उधमीहरुको श्रीमान श्रीमति दुवै जनाको १/१ लाखको दुर्घटना तथा दुर्घटना हुँदाको औषधि उपचार विमा पनि गर्ने व्यवस्था गरेका छौं । संसारको सबभन्दा ठूला समस्या बेरोजगारी समस्यालाई उधमशीलता विकासले सामाधान गर्ने भएकोले यसमा सबैले जोड दिनुपर्छ ।
७ अन्त्यमा, आगामी योजनाहरु के के रहेका छन् ?
प्रो.मो. महम्मद युनुसले अगाडि सारेको थ्री जेरो (3 ZERO) गरीबी, बेरोजगारी र कार्बन उत्सर्जन शुन्य पार्ने अभियानमा लघुवित्त मार्फत योगदान गर्ने योजना रहेको छ । त्यसको लागि विभिन्न कार्यक्रमहरु संचालन गर्नेछौं । लघुवित्त कार्यक्रमलाई मर्म अनुसार संचालन गर्ने छौं । अहिलेको आवश्यकता डिजिटलाइजेशनमा जोड दिनुका साथै विपन्नहरुको जीवनस्तर उकास्न विभिन्न समाजिक कार्यहरु बृद्धि गर्दै जाने योजना छ । गुणस्तरयुक्त कार्यक्रम विस्तारमा ध्यान दिइनेछ ।